OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०७८काठमाडौं
४४२ पटक

१२ जेठ २०७८, बुधबार

श्रीमद् देवी भागवतमा एउटा कथा आएको छ, जसलाई कमवेशीरूपमा श्रीमद्भागवतमा पनि उल्लेख गरेका छन् व्यासजीले । प्राचीनकालमा हरिश्चन्द्र नामका सूर्यवंशी राजा थिए । सत्यधर्मका निम्ति स्वर्गलोकसम्म ख्याति फैलिएको थियो उनको । अहिले पनि सत्य र निष्टाको उदाहरण दिनुपर्दा उनकै नाम लिने गरिएको छ ।

राजा हरिश्चन्द्र हरेक कुराले सम्पन्न थिए । भूमण्डलमा एकछत्र साम्राज्य कायम थियो तर सन्तान सुख भने पाउन सकेका थिएनन् । त्यसैले एक दिन वरुणदेवता समक्ष गएर दुःखेसो पोखे । उनको गुनासो सुनेर वरुणले भने–

‘तिमीलाई सन्तान प्राप्ति हुने वरदान त दिन्छु तर नवजात शिशुलाई मेरा निम्ति बलि दिनुपर्छ ।’

सर्त सुनेर हरिश्चन्द्र झस्के तर सन्तानका निम्ति अर्को उपाय पनि थिएन । उनलाई सन्तान नहुनुको पीडाभन्दा मुखसम्म हेर्न पाउनु नै उत्तम लाग्यो र वरुणको सर्त स्वीकार गरी दरबारतिर फर्के ।

नभन्दै वरुणदेवको कृपाले एक वर्षपछि एक स्वस्थ र सुन्दर पुत्र पैदा भयो । जन्मनासाथ पूर्व सर्तअनुसार वरुण देवता माग्न आए । उनले न्वारन गरेपछि दिन्छु भनेर त्यस पटकको खड्गो टारे । बच्चाको न्वारन गरे, नाम रोहित जु¥यो । न्वारनपछि वरुण पुनः माग्न आए । त्यस पटक पनि पास्नी गरेपछि दिन्छु भनेर फिर्ता गरे । त्यसपछि पनि दाँत आएपछि दिन्छु, चूडाकर्म गरेपछि दिन्छु, व्रतबन्ध गरेपछि दिन्छु भन्दै तीन पटकसम्म वरुणलाई पर्काउन सफल भए ।

तर भइदियो के भने व्रतबन्धपछि रोहितले आफैँले वरुण देवताका नाममा बलि दिइँदै छ भन्ने थाहा पाएछन् र भागेर बेपत्ता भए । आफूलाई बलि दिन ठीक पारिएको बालक भागेको चाल पाएपछि वरुण देवता रिसाएर राजालाई जलोदर (पेटमा पानी जम्ने) रोग लाग्ने श्राप दिए । तत्कालै उनलाई वरुणको श्राप लाग्यो र पेट फुलेर छटपटिन लागे ।

यजमानको दुःख देख्न नसकेर गुरुपुरोहितले वरुणदेवसित त्यसको उपचार सोधे । वरुणले राजालाई स्वस्थ पार्ने भए बलि त दिनै पर्छ । बरु सट्टामा कसैको बच्चा किनेर काम चलाउन सक्नुहुन्छ भने । त्यसपछि भारदारहरू त्यस्तो बच्चाको खोजीमा लागे । यो कुरा पर गाउँका अजिगर्त नामक एउटा गरिब ब्राह्मणले थाहा पाएछन् र आफू एउटा छोरा बेच्न तयार भएको खबर पठाए ।

निश्चित शुल्क दिएर बच्चा किनियो । जसको नाम शुनःसेप थियो । राजाको दरबारमा नरबलि यज्ञ आयोजना गरियो । शुनःसेपलाई यज्ञवेदी (मौलो) मा बाँधियो । वरुणदेवतालाई निम्तो गरियो । उनी आएर उच्च आसनमा बसे । बलिदानको बेला भयो तर कोही पनि काट्न तयार भएनन् । अन्त्यमा उनकै बाबु आएर भने–

‘अघिकोभन्दा डबल मूल्य दिने भए आफैँ काटिदिने छु ।’

मृत्यु निश्चित देखेपछि बालक शुनःसेपले रुँदै भने–

‘सानै छु बाबुआमाको सेवा गर्र्नै पाएको छैन । उहाँहरूका निम्ति मैले धेरै गर्न बाँकी छ । त्यसैले बिन्ती छ मलाई नमार्नुहोस् । उहाँहरूको सेवा गर्ने छोरा भने पनि छोरी भने पनि म एउटै हुँ । मैले नै छाडेर गएपछि उहाँहरूको सेवा कसले गर्ला, बुढेसकालमा कसले हेरचाहा गर्ला ? सन्तान भएर बुढेसकालमा बाबुआमाका सहारा बन्दैनन् भने, बन्न सक्दैनन् भने त्यस्ता सन्तानको के काम ? उनीहरूले जन्मेका के सार ?’

उनको पितृभक्ति देखेर सारा देवीदेवता तथा ऋषिमुनि र सभासद् खुसी भए । सबैले उनको प्रशंसा पनि गरे तर बचाउन भने कोही पनि अघि सर्न सकेनन् । त्यति नै बेला महर्षि विश्वामित्रले आसनबाट उठ्दै भने–

‘देवीदेवताले सशरीर बलि खाँदैनन् । यदि सशरीर बलि खान्छन् वा खान्छु भन्छन् भने ती देवीदेवता नै होइनन्, हुनै सक्दैनन् । त्यसैले देवीदेवताका नाममा बलिदान गर्नु भनेको मार्नु, काट्नु होइन संस्कार गरेर छाड्नु हो ।’

महर्षि विश्वामित्रका कुरा कसैले पनि काट्न सकेनन् । एकछिन यज्ञमण्डवमा सन्नाटा छायो । स्वयं बलि खान आएका वरुण देवतासमेत एक शब्द नबोली घोसेमुन्टो लगाएर बसे । त्यसपछि विश्वामित्रले आफैँ गएर शुनःसेपलाई पूजा (बलिको संस्कार) गरी मौलोबाट फुकाइदिए । यज्ञ समाप्त भयो । विश्वामित्रको एउटै वाक्यले शुनःसेप र राजा हरिश्चन्द्र दुवैलाई मुक्ति दियो । शुनःसेपले बलिवेदीबाट मुक्ति पाए, हरिश्चन्द्रले रोगबाट ।

मौलोबाट छुटेपछि बालक शुनःसेपले भने–

‘मेरा बाबुआमा को हुन् र बस्ने र खाने स्थान कता हो त्यो पनि बताइदिन सभासमक्ष आग्रह गर्छु ।’

यसबारे व्यापक छलफल भयो । अन्त्यमा ऋषिमण्डलीले जन्मदिनेभन्दा जीवन बचाउने ठूलो हुन्छ भन्दै विश्वामित्र नै असली बाबु हुन् भन्ने निर्णय गरेकाले विश्वामित्र उनलाई लिएर आफ्नै आश्रम कोसी किनारतिर लागे ।

विश्वामित्रको आश्रममा गएपछि शुनःसेप कठोर साधनामा लागे । सानैदेखि ज्ञानी, गुणी, विवेकी र परोपकारी थिए । सङ्गत पनि त्यस्तै पाएकाले चाँडै नै विद्या र बुद्धिमा पारङ्गत भए । अध्ययनको अध्याय समाप्त भएपछि उनी वेदमन्त्र रचनातर्फ लागे । उनले रचना गरेका वैदिक सूक्त र मन्त्र चारै वेदमा छरिएर रहेका छन् ।

ऋग्वेद मण्डल एकको २४ देखि ३० तकका सूक्तहरू र नवौँ मण्डलका तेस्रो सूक्त उनैले गाएका सूक्तहरू हुन्, जहाँ सयौँ मन्त्र गुम्फन भएका छन् । यसबाहेक यजुर्वेद, सामवेद र अथर्ववेदमा पनि उनले गाएका थुप्रै सूक्त र मन्त्रहरू छन् । यीमध्ये कतिपय मन्त्र यस्ता छन्, जुन ज्ञानका दृष्टिले मात्र नभई आधुनिक विज्ञान र प्रविधिका दृष्टिले समेत निकै महत्त्वपूर्ण ठहरिएका छन् ।

बाबुआमाले पैसाको लोभमा बेचिदिएका भए पनि शुनःसेपले आफ्नो पितृभक्ति र मातृभक्तिमा कत्ति कमी आउन दिएनन् । यज्ञको मौलोमा बाँधिएर काटिनै लाग्दा पनि उनलाई आफ्नोभन्दा बाबुआमाको चिन्ता थियो । आफ्नो अनुपस्थितिमा तिनको सेवा कसले गर्ला भन्दै रोएका थिए, कराएका थिए । यही पितृ तथा मातृभक्तिका कारण उनले जीवनदान मात्र पाएनन् वैदिक मन्त्रद्रष्टा ऋषिको पङ्क्तिमा उभिनसमेत समर्थ भए । उनी हाल छैनन् तर उनको नाम भने इतिहासका पानामा कहिल्यै नमेटिने गरी सुरक्षित रहेको छ ।  रातोपाटीबाट

प्रतिकृया दिनुहोस्