OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०७६सुर्खेत
५२८ पटक

सुर्खेत, २५ साउन ः आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिक मात्र होईन, साँस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ ।
आत्महत्याका घटनाको प्रभाव गाउँ भन्दा शहरमा बढी भएको पाईएको छ । पछिल्लो समयमा यो समस्या र चुनौतिका रुपमा देखा परेको छ । यद्यपि हाम्रो समाजमा आत्महत्या किन बढ्दै गएको छ र यसको रोकथाम के हो ? भन्ने विषयमा त्यति गहिरो अध्ययन अनुसन्धान गरेको पनि पाईदैन ।
सरकारले भने आत्महत्याको नकरात्मक प्रभाव रोक्न एवं व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित गर्न थुप्रै जनचेतनामूलक कार्यक्रम गर्नुको साथै अपराधिक गतिविधि गराउनेविरुद्ध कडा कानूनी कारवाहीको व्यवस्था गरेको छ । गैरसरकारी संघ÷संस्थाले पनि यस क्षेत्रमा ठूलै लगानी गरेको पाईन्छ । तथापि यस्ता गतिविधिहरुले समाजमा आत्महत्याका घटना घट्नुको सट्टा बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउँछन् ।
आत्महत्या आफैमा अपराध हो । मृतक आफैले आफूमाथि गरेको अपराध हो । यद्यपि देहत्याग गर्नेलाई थाह नहुँदा यो समस्या समाजमा घट्दो क्रममा छैन । व्यक्तिको आत्महत्या पश्चात् उसको आश्रित परिवार तथा समाजमा पर्ने नकरात्मक प्रभावले पछिल्लो पुस्तामा यसको असर झनै बढेको देखिन्छ ।
मुख्यगरी घरको अभिभावकले त्यसो गर्दा आश्रित परिवारका सदस्यमा पर्ने मनोवैज्ञानिक, सामाजिक, व्यक्तिगत प्रभाव र त्यसले कुनैपनि समाजको शान्ति तथा विकासमा पर्न जाने असर निकै डरलाग्दो हुने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।
शहरी रहनसहन, बदलिदो जीवनशैली, बेरोजगारी, गरिबी, अपरिपक्व सोच, प्रेममा धोका, सम्बन्ध बिच्छेद, मदिरा, पारिवारिक बिग्रह÷कलह, परीक्षामा असफलता, मानसिक रोग, आन्तरिक द्वन्द्ध, घरेलु तथा लैङ्गिक हिंसा, मादक पदार्थको सेवन, तनावपूर्ण तथा थकित जीवन आत्महत्याका मुख्य कारणहरु भएको प्रहरी नायब महानिरीक्षक जोशीले बताउनुभयो ।
“शहरमा आउने बित्तिकै हरेक व्यक्ति सुविधाभोगी हुन चाहान्छ, यद्यपि सबैका ईच्छाहरु पुरा हुन सक्दैनन्,” प्रहरी नायब महानिरीक्षक जोशीले भन्नुभयो, “मूलतः यो अर्थ र सामाजिक प्रतिष्ठासँग जोडिन्छ तथापि सबै आर्थिक रुपले आत्मनिर्भर हुने अवस्था छैन ।” आर्थिक, राजनीतिक, सामाजिक, पाविारिक, साँस्कृतिक, असमानता, विभेद र कलहबाट सृर्जित असंवेदनशील अवस्थाले आत्महत्याका घटना घट्ने गरेको उहाँको भनाई छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले यस प्रदेशको आव.०७२÷०७३–०७५÷०७६ मा आत्महत्याका घटनाको तथ्याङ्क अध्ययन गर्दा नौसय २७ जनाले आत्महत्या गरेको बताउनुभयो । “गत आवमा मात्रै दुईसय ५० जनाले आत्महत्या गरेका छन्,” प्रवक्ता तिम्सिनाले भन्नुभयो, “यो दर घट्नुको सट्टा डरलाग्दो तरिकाले बढेको छ ।”
उहाँले भन्नुभयो, “तथ्याङको अध्ययन अनुसार आत्महत्या गर्नेहरुमा बढी १६ देखि ३० वर्ष उमेर समुहका (३७ प्रतिशत) र त्यसपछि ३१ देखि ४१ वर्ष उमेर समुहका (२६ प्रतिशत) छन् । ७३ प्रतिशतले डोरी लगाएर र २७ प्रतिशतले विषपानलगायत अन्य चीज प्रयोगगरी आत्महत्या गर्ने गरेको पाईन्छ ।”
आव.०७५÷०७६ लिङ्गका आधारमा पुरुष, उमेर समुह अन्तरगत १६–३० वर्ष, वैवाहिक अवस्था हेर्दा विवाहित, वर्गमा दलित, पेशामा कृषि, क्षेत्रगत रुपमा ग्रामीण इलाका, शैक्षिक योग्यताका हिसाबले निरक्षर र कारणमा गरिबीले आत्महत्या गर्ने गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा छ । त्यसैगरी, आत्महत्या बढी भएको उल्लेख गर्दा, जिल्लामा सुर्खेत, महीनामा भदौ, दिनमा शनिबार, समयमा १८–२४÷१२–१८ घण्टाको अवधि, प्रकृतिमा झुण्डिएर आत्महत्या गरेको पाईएको छ ।
गत आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा सबैभन्दा बढी सुर्खेतमा ९२ जनाले आत्महत्या गरेका छन् । त्यसपछि सल्यानमा ५०, दैलेखमा ४३, रुकुम पश्चिममा ३२, जुम्लामा १०, जाजरकोट र मुगुमा ६÷६, हुम्लामा १ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले अभिलेखीकरण गरेको तथ्याङ्क अनुसार डोल्पा जिल्लामा गत आवमा आत्महत्या गर्नेको संख्या शून्य छ ।
यसको विषयमा अधिकारकर्मी गीता कोइरालाले लैङ्गिक हिंसाका कारण पछिल्ला वर्षहरुमा आत्महत्याका घटना बढेको बताउनुभयो । “महिला होस् या पुरुष हिंसामा पर्दा तत्कालिन परिस्थितिको सामना गर्न नसक्नुको परिणाम यस्ता घटनाहरु घट्ने गरेका छन्” अधिकारकर्मी कोइरालाले भन्नुभयो, “हिंसाको चपेटामा तुलनात्मकरुपले पुरुषभन्दा महिला नै बढी छन् ।”
अधिवक्ता दुर्गा सापकोटाका अनुसार बेराजगारी, घरयासी अशान्त वातावरणबाट उब्जने निराशाको परिणामस्वरुप आत्महत्याका घटना घट्ने गरेको छन् । “जीवनमा आफुले सोचेको जस्तो भएन भने र असफलताहरु हुँदै जाँदा व्यक्ति निरास हुन्छ । जसको कारण उसमा दिक्दारीपन आउँछ” उहाँले भन्नुभयो, “उसले अन्तिम विकल्प आत्महत्यालाई नै देख्छ ।”
यता बहुसाँस्कृतिक मनोसामाजिक संस्थाका परामर्शकर्ता नन्दराज आचार्यले आत्महत्याका कारणहरु मध्य मदिरा प्रमुख रहेको बताउनुभयो । आत्महत्या गर्नेहरुमा पुरुषको संख्या धेरै भएपनि आत्महत्याको प्रयास गर्ने संख्या भने महिलाको बढी भएको उहाँको दावी छ । परिवारप्रतिको आगाध प्रेम पुरुष भन्दा महिलामा नै बढी हुने भएकोले आत्महत्यामा महिलाको संख्या कम देखिएको उहाँको टिप्पणी थियो ।
विमर्शकर्ता आचार्यले अगाडि भन्नुभयो, “समाज सचेत हुन जरुरी छ र सरकारले यस कुरामा गम्भीर चासो लिएर अघि बढ्नुपर्दछ । त्यसका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्रत्येक गाउँपालिकामा मनोपरामर्शकर्ताको व्यवस्था गर्नुको साथै मुलुकको दिगो विकास लक्ष्य प्राप्तिका लागि नीतिगत तहबाटै आत्महत्याका घटनाको समाधान खोजिनुपर्दछ ।”
सरकारी तहबाट आत्महत्या न्यूनीकरणमा केही प्रयासहरु भएपनि यसले आदर्श तथा सभ्य समाज निर्माणमा कस्तो प्रभाव पार्छ ? भन्ने कुराको गहिरो अध्ययन कही कतैबाट भएको पाईदैन । मूलत ः पेशागत, वर्गीय असमानता तथा विभेदीकरण र परनिर्भरताले आत्महत्याका घटनामा वृद्धि ल्याएको बताउँदै यसको रोकथाम र समाजको समानान्तर विकासमा सबै सरकारहरु संवेदनशील भएर लाग्न जानकारहरुले सुझाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्