OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १२, २०७७सुर्खेत
१२२० पटक

सुरजकुमार सिंह

१२ चैत २०७७, बिहीबार

‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु’ मतलब (चैतको १२ गतेसम्म पनि घर पुगेन जुम्लीको मृत्यु सुनिश्चित गर्नु) । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । यससँग यहाँको सामाजिक र साँस्कृतिक जीवन जोडिएको छ ।

असोज कार्तिकमा धान, कोदो, फापरलगायतका बाली भण्डारण गरेर कालापहाड जाने कर्णालीवासीको जीवनशैलीसँग अन्तरसम्बन्धित कथा बोकेको ऐतिहासिक महत्वको दिन हो, चैत १२ गते अर्थात् बारुवाँ । यसलाई जुम्लाले आज विशेष महत्व दिएर ‘मुठो रोपेर मुरी उत्पादन’ गर्ने दिनका रुपमा मनाउने गर्दछ ।

कर्णाली प्रदेश सरकारले राजपत्रमै प्रकाशन गरेर गत वर्षबाट चैतको १२ गतेलाई जुम्लाको धान दिवस मनाउने गरी सार्वजनिक विदा दिएको हो । त्यही अनुसार धान दिवसका रुपमा जुम्लालाई आज सार्वजनिक विदा दिईएको छ । यही दिनबाट धानको बीउ उमार्न कृषकहरुले चार÷चार दिनको फरक पारेर बेर्नामा छर्ने बीउ तयार पार्दछन् ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार जुम्लाले चैत महिनालाई ‘बारुवाँ, सोरुवाँ र विश्वाँ’का रुपमा मनाउँछ । सामाजिक तथा साँस्कृतिक दृष्टिले सम्पन्न मानिने यो पर्व अहिले पनि विद्यामान छ र नागरिकहरुले यसलाई निरन्तरता दिइरहेका छन् ।

जानकार आचार्यले खासगरी आज जुम्ली किसानहरुले वर्षभरि लगाउने सबै खेतबारीमा रोप्न मिल्ने आँकलन गरी त्यही परिमाणमा कालीमार्सी धान केलाएर पुष्ट धानलाई भाँगो वा अल्लाबाट बनेको बोरोमा हालेर नजिकैको नदी वा खोलामा भिजाउँने परम्परा रहेको बताउनुभयो ।

बारुवाँमा भिजाईएको धानलाई चार दिनपछि सोरुवाँ (चैत १६) गतेका दिन पानीबाट उतारेर घरमा ल्याउँछन् । भिजाईएको धानलाई घरको चूल्होसँग जोडिएको मैडो(समथर ठाउँ)मा राख्छन् । सल्लाको झुप्रा वा भोजपत्रले त्यसलाई ढाकेर न्यानो बनाउँछन् । त्यही दिनमा भिजाईएको धानको चिउरा कुट्छन् र पोइलीमा गएकी छोरी बहिनीहरुलाई कोशेलीका रुपमा पठाउने गर्दछन् ।

मूलतः बारुवाँ पर्व, चन्दननाथ बाबा र लक्षालकृति पैकलोबीच अन्तरसम्बन्ध रहेको जानकार आचार्यले बताउनुभयो । “प्रदेश सरकारले बारुवाँलाई केन्द्रित गरी जुम्लामा सार्वजनिक विदा दिएर बारुवाँ संस्कृतिको ऐतिहासिक बिरासत जोगाएको छ,” उहाँले भन्नुभयो, “यसले मार्सी धान, यसको खोज र उत्पादनको इतिहासलाई पल्टाउँछ ।”

उहाँका अनुसार साके सम्वत् १५१५ मा विद्धान हरिदास आचार्यले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । १५औं शताब्दीतिर चन्दननाथ बाबाले आफ्नो लामो खोज, अध्ययन तथा अनुसन्धान कालीमार्सी धान पत्ता लगाएको पाईन्छ । किवदन्ती अनुसार तातोपानी गाउँपालिकामा जन्मेको लक्षालकृति पैकलो (शूरबीर)ले तातोपानीकै लाक्षु जिउलोको बीचमा अवस्थित गुरु फोक्टोबाट कालीमार्सी धानखेती शुरुवात गरेको इतिहासमा उल्लेख भएको उहाँको भनाई छ ।

को थिए लक्षालकृति पैकेलो ?

किंवदन्ती अनुसार लक्षालकृति पैकेलो चन्दननाथ बाबाको आज्ञाकारी चेलो थिए । यद्यपि तातोपानी गोप्थडा गाउँनिवासी सन्तानविहिन बुँदे बुढा वनमा निगाला लिन जाँदा रोईरहेका बालक भेटाएपछि घरमा ल्याएर धर्म छोरो बनाएका थिए । उनले दानुवा दह नजिकको दानसाँघु भिट्टो (डाँडो), हालको जुम्ला सदरमुकामको यावा दहसँग जोडिएको खलाचौर भिट्टो र लामी रहसँग जोडिएको बाँजाराउला भिट्टो काटेर जुम्लामा मानव बस्ती बसाल्नुका साथै धानखेती शुरु गरेका थिए ।

इतिहासकारहरुलाई उद्रित गर्दै आचार्यले लक्षालकृति एक असाधारण, शक्तिशाली र परिश्रमी व्यक्ति भएको र उनले गरेको खेती पछि साविकका कर्णालीका अन्य जिल्लामा पनि फैलिएको बताउनुभयो । लक्षालकृति पैकलोले धानखेती शुरु गरेको गुरु फोक्टो रहेको जिउलोको नाम लाक्षु रहेकोले जुम्लाका चौधबीस, असी, सिञ्जा दरा (भेक) बाहेक पाँचसय दरामा कालीमार्सी उब्जनी गर्न थालिएको उहाँको भनाई थियो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले सामाजिकसहित साँस्कृतिक बिरासत बोकेको बारुवाँ (चैत १२) ले कर्णालीको आत्मनिर्भरतालाई समेत जोड दिँदै आएको बताउनुभयो । आत्मनिर्भर एवं स्वाभिमानी जीवन जीउन, मेहनत, परिश्रम गरेर खाने संस्कारलाई बढावा दिनुका साथै बेला चुकाउनेले अन्तमा गएर चुकचुकाउने (पश्चाताप) गर्ने सिवाय केही गर्न सक्दैन भन्ने अर्थपूर्ण सन्देश पनि प्रवाह गर्दै आएको अध्यक्ष न्यौपानेले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो खेती प्रणाली र पर्यावरण बचाउन हाम्रा संस्कृतिले ठूलो सहयोग पु¥याउँदै आएका छन् । यद्यपि आधुनिकताको तीव्र विकासले मौलिक संस्कृतिहरु लोप हुँदै जाँदा परनिर्भरता बढ्दै गएको छ ।” ब्यूटाकलरको प्रयोगपछि त्यसको असर सहन नसकेको कालीमार्सी पछिल्लो समयमा लोपन्मुख अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान केन्द्रले पुरानो र नयाँ प्रविधिको संयोजनबाट कालीमार्सीको साख बचाउनुपर्ने र सबै तहका सरकारहरुको संलग्नतामा यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुनुपर्ने अध्यक्ष न्यौपानेले सुझाउनुभयो । उहाँका अनुसार कालीमार्सीको संरक्षणसँगै यहाँका रैथानेबालीहरु कोदो, सिमी, फापर, चिनो, कागुनो, मार्से र उवाको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्न सक्छ ।

बारुवाँ र सामाजिक जीवन

बारुवाँ र सामाजिक जीवनको आफ्नै अन्तरसम्बन्ध छ । बारुवा पर्व मात्र नभई कर्णालीको समग्र खेती प्रणाली, यहाँका मान्ठ (नागरिक)हरुको दिनचर्यालाई यथार्थरुपमा चित्रण गर्ने सामाजिक एवं मौलिक महत्वको दिन हो ।

यसको सामाजिक तथा साँस्कृतिक महत्वले जुम्लाईतरको इतिहास र वर्तमान अवस्थाको तुलनात्मक ढंगबाट अध्ययन एवं अनुसन्धान गर्न मुखरित गर्दछ । बारुवाँले जुम्ली घर आउने कुरासँग मात्र सम्बन्ध राख्दैन । उतिबेलादेखि आजसम्मको कर्णालीको वास्तविकता सरल तवरबाट कोट्याउन उत्प्रेरित गर्दछ ।

जुम्लीको छ महिनाको कहाली लाग्दो कालापहाड यात्रा, त्यो अवधिमा भोगेका तीता क्षणहरु, परदेशीको पर्खाईंमा बस्ने परिवार, मिलन, खुशी र रोदनको निर्धारण पनि यही बारुवाँले गर्दथ्यो । त्यो परिवेश आजसम्म पनि कायम छ । फरक यतिमात्र हो, अहिले चैत १२ गतेको दिन भेट्न जुम्लाका मान्ठहरु गाडीमा आउँछन्, उतिबेला महिनौ दिनको पैदल यात्रापछि चैत्र ११ गतेसम्म घर पुग्थे ।

डेढ दशक अघिसम्म साविक कर्णाली पैदल यात्राकै भरमा जुम्ला पुग्थ्यो । आज करिब घरसम्मै मोटर पुग्छ । तर उतिबेला चैतको १२ गते कसैको घरमा निकै खुशीयाली हुन्थ्यो भने कसैको घरमा रुवाबासी । कालापहाड गएको छ महिनापछि परदेशी घर नफर्कंदा एकै छिमेकका परिवारमा कसैले श्रीमान, कसैले छोरा त कसैले बाउ, दाई भाई, काका, भान्जा, देवर गुमाएको हुन्थ्यो ।

आफ्नो सदस्य गुमाएको परिवारको कारुणिक दृश्यले छिमेकीलाई पनि स्तब्द बनाउँथ्यो । अघिल्लो दिन मखमली चोलो, धोती (गाबुन), पटुका, चुरापोते, चुलठीलगायतले सुन्दर पहिरनमा सजिएकी महिला क्षणभरमै फेरिएको सेतो पहिरनले विरुप बन्न विवश हुन्थिन् । परदेशीको अनागमनले आशातीत परिवारको एकाएक खुशी लुटिन्थ्यो ।

तर मौलिक एवं विशेषतायुक्त कर्णालीको ग्रामीण संस्कार दुःखमा परेका परिवारका लागि निकै सहयोगी बन्थ्यो । छिमेकीहरुले पीडित घर परिवारलाई वर्षौसम्म खेती किसानी, धारा पँधेरा, वस्त्र व्यवस्थापनलगायतका कुरामा साहयता गरिरहन्थे । बिडम्बना, सेतो पहिरनकी महिलाप्रति हेर्ने सामाजिक दृष्टिकोण भने निकै फरक अर्थात् कमजोर थियो ।

तिला गाउँपालिका ४ जुम्ला निवासी बीरबहादुर सिंहले कालापहाडमा गएर आफ्नै सहपाठीहरुले अकालमा ज्यान गुमाएको तीतो अनुभव सुनाउनुभयो । “जुम्लाबाट खानखर्च, लत्ताकपडा, भाँडाकुडासहित पैदल हिडेर नेपालगञ्ज पुग्न महिना दिन लाग्थ्यो,” सिंहले भन्नुभयो, “भारतमा ज्यालादारी काम गरेर छ महिनापछि बारुवाँ भेटाउनै पथ्र्यो तर साथी गुमाएर घर पुगेको दिन निकै पीडादायी हुन्थ्यो ।”

हुलाकीको काम परेवाले गर्दथ्यो भन्ने किवदन्ती र बिहान काग कराउँदा के खबर लिएर आयो भनेर निधो गर्ने संस्कारलाई आज सूचना, सञ्चार र नवितम् प्रविधिको विकासले विस्थापित गरिदिएको छ । कुनैबेला सञ्चारको निकै प्रभावकारी र भरपर्दो माध्यम मानिने हुलाक सेवा यो युगमा पानासोनिक रेडियोको अवस्थामा पुग्दैछ ।

शारीरिक स्पर्शबाहेक करिब सबै कामहरु आधुनिक प्रविधिले समाधान गरिरहेको छ । त्यतिमात्र होइन, यो सामाजिक तथा साँस्कृतिक मूल्य मान्यता बोकेको हाम्रो मौलिक संस्कृति, संस्कार तथा सभ्यता संरक्षणमा ठूलो चुनौति बन्दै गएको छ ।

यथार्थमा भन्नुपर्दा, मानवीय भावना, सामाजिक तथा साँस्कृतिक जनजीवन, परिवेश, संस्कार, मौसम, कृषि कर्म र मानव जीवन अस्तित्वसँग जोडिएको ‘बारुवाँ पर्व’ कर्णालीको समग्र मानव जीवनको द्योतक हो । यस पर्वले समयको गति अनुसार चल्न नसक्ने प्रवृतिको कुनैपनि व्यक्ति वा समाजले फलको आशा गर्नु निरर्थक हुन्छ भन्ने शिक्षा दिन्छ अर्थात ‘रोप्नेलाई मात्र कटनी गर्ने अधिकार छ’ भन्छ ।

प्रतिकृया दिनुहोस्