OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ५, २०७७
५६४ पटक

 ५ चैत २०७७, बिहीबार
कर्णाली साहित्य समाज सुर्खेतले भाषा साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान पुर्याउने मुलुकका तीनजना स्रष्टाहरुलाई पुरस्कृत गर्ने भएको छ ।

समाजले आज एक पत्रकार सम्मेलनमार्फत पुरस्कृत हुनेमा काठमाडौं निवासी शताब्दी पुरुष सत्यमोहन जोशी, कैलाली निवासी कथाकार ललित विष्ट र सुर्खेत निवासी कलासाधक प्रेमदेव गिरीको नाम छनोटमा परेको कुरा सार्वजनिक गरेको हो । कर्णाली लोक संस्कृतिलगायतका दर्जनौं कृतिका लेखक तथा शताब्दी पुरुष जोशीलाई ताम्र पत्रसहित ‘कर्णाली साहित्य साधना सम्मान’ प्रदान गरिने समाजका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै कथाकार विष्टको कथाकृति ‘मोहपथ’लाई रु.५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार,’ नेपाली लोक एवं वाद्यवादनका क्षेत्रमा कर्णालीलाई नेपाल तथा विदेशमा चिनाउने योगदान पुर्याउनु हुने बरिष्ठ कलासाधक प्रेमदेव गिरीलाई रु.२५ हजारको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ प्रदान गरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यसमितिले तीनतीन जनाको नाम चयन गरेर छनोट गरिँदै आएको बताउँदै अध्यक्ष अधिकारीले नेपाली साहित्यको क्षेत्रमा कर्णाली चिनाउनेलाई र मुलुकभरिबाट कला, संस्कृति संरक्षण गर्न सघाउ पुर्याउने व्यक्तित्वलाई छनोटमा प्राथमिकता दिईएको जनाउनुभयो ।

२०७५ सालमा स्थापना भएको साहित्य समाजले स्रष्टा चयनका लागि छनोट समिति गठन गरेको छ । विदेशमा बस्ने कर्णालीबासी र समाजका पदाधिकारी तथा सदस्यहरुले उठाएर पुरस्कार दिने गरिएको उहाँको भनाई छ । उहाँका अनुसार समाजको कोषमा रु.२५ लाख संकलन गर्ने र यसलाई जीवन्त राख्ने लक्ष्य लिईएको छ ।

“नेपाली साहित्य श्रीवृद्धि र कर्णालीको कला, संस्कृति र साहित्यलाई देश विदेशमा चिनाउन विशेष योगदान दिने सर्जकलाई प्राथकितामा राखेर छनोट गर्ने गरेको छौं,” उहाँले भन्नुभयो, “गत वर्षपनि ‘मरिचिका’ कथा संग्रहका कथाकार महेश थापा, कवि तथा उपन्यासकार बुद्धिसागर र कवि श्यामललाई सम्मान तथा पुरस्कृत गरेका थियौं ।” यही चैत्र ११ गते तीन स्रष्टालाई वीरेन्द्रनगर सुर्खेतमा सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।

प्रतिकृया दिनुहोस्