OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहफागुन १०, २०७७सुर्खेत
६८४ पटक

 

 १० फागुन २०७७, सोमबार

नेपाली उखान, ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जु¥यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिन अघि हवाईजहाजबाट नेपालगञ्ज जान उहाँ बाजुराको कोल्टी विमानस्थल पुग्नुभयो । खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकोले चँदारा कोल्टी पुग्नुको विकल्प थिएन ।

नेपालगञ्ज उड्नका लागि विमानस्थलमा पुगेकी उहाँलाई हवाईजहाज चढ्न त्यहाँका कर्मचारीले डाक्टरको सिफारिस अनिवार्य चाहिने कुरा गरे । च्यापिरहेको पीडालाई आफैले मत्थर गर्दै उहाँ कोल्टी विमानस्थल नजिक पारीपट्टि रहेको बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभयो र त्यहाँको डाक्टरसँग नेपालगञ्ज जानका लागि सिफारिस दिनु अनुरोध गर्नुभयो ।

संयोगवशः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एनेस्थेसिया विशेषज्ञ डा.अर्जुनप्रसाद तिवारीको नेतृत्वमा बाल रोग विशेषज्ञ डा.नम्रता सिन्दान, र स्त्रीरोग विशेष अनुभव प्राप्त डा.दिलसाही रोकाको टोली केन्द्रमै पुगेको थियो । सिफारिस लिन आएकी चँदारालाई देख्ने बित्तिकै डाक्टर टोलीले परिचयसहित उहाँको समस्या र स्वास्थ्य अवस्थाबारे जानकारी लियो ।

चिकित्सकहरुको टोलीले सिफारिस लिन आएकी चँदाराको प्रारम्भिक अवस्था बुझ्नुका साथै केही बेरसम्मको संवादपछि उहाँलाई त्यही प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सकिने कुरामा मञ्जुर गरायो । सिफारिस लिएर जतिसक्दो छिटो नेपालगञ्जको फ्लाईट भेटाउने मोडमा रहेकी उहाँ (चँदारा)लाई भने केही शंका र अलि अप्ठ्यारो लागिरहेको थियो । यद्यपि उहाँललाई विश्वस्त बनाउन चिकित्सक टोली सफल भयो ।

“उक्त केन्द्रमा उहाँलाई त्यतिबेला नै चेकजाँच ग¥यौं । बच्चा (ट्रान्सभर्सलाई) उल्टो अवस्थामा रहेछ,” डा.तिवारीले भन्नुभयो, “आमा र बच्चा दुवैको ज्यान खतरामा भएकोले चँदारा र उहाँको आफन्तलाई राजी बनाएर तत्काल हामी शल्यक्रिया गर्ने निधोमा पुग्यौं तथापि साधन स्रोतको अभावमा स्वास्थ्य केन्द्रमा शल्यक्रिया गर्न भने निकै चुनौतिपूर्ण थियो ।”

उहाँले अगाडि भन्नुभयो, “स्थानीय साधन स्रोत र केही आफूले बोकेको उपकरणको सहयोगबाट सिजेरियन सेक्सन (सिएस) ग¥यौं । शल्यक्रिया पूर्णरुपमा सफल भयो । सुत्केरी गराउँदा (बर्थ एस्फाईजिया) अर्थात् बच्चाले आफ्नो दिसा आफैले खाएको थियो । त्यसको पनि सबै व्यवस्थापन गरियो ।” अहिले भने बच्चा र आमाको अवस्था सामान्य रहेको एनेस्थेसिया डा.तिवारीले जानकारी दिनुभयो ।

हाँका अनुसार प्रतिष्ठान जुम्लाको डा.टोलीका सदस्यहरुका साथै बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्टाफनर्स मुना देवकोटा, अनमीत्रय चन्दा कुमारी दानी, दाना जोशी, मनिषा रसाइलीसहितका स्वास्थ्यकर्मीहरुको अथक प्रयासबाट आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिएको हो ।

बुढीनन्दा नगरपालिका कोल्टी बाजुराको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.राजुराज जैशीले कोल्टीमा गरिएको सिजेरियन सेक्सन इतिहासमै पहिलो शल्यक्रिया भएको जानकारी दिनुभयो । “यस अघिका सबै जटिल खालका केसहरु हामीले नेपालगञ्ज नै सिफारिस गर्ने गथ्र्यौं,” मेडिकल अधिकृत डा.जैसीले भन्नुभयो, “यतिबेला प्रतिष्ठान जुम्लाको चिकित्सक टोलीले ठूलो सहयोग गरेको छ ।”

यस ऐतिहासिक सफलतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ठूलो हात रहेको बताउँदै उहाँले यो संयोगले मातृशिशुको ज्यान मात्र नभएर लाखौंको खर्च पनि जोगिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अघि हामीले जटिल खालका बिरामीको उपचारका लागि हेलिकोप्टर मगाउने र हवाईजहाजमा पठाउने गथ्र्यौं । भाग्यवशः यतिबेला चिकित्सकहरुको टोली कोल्टी पुगेको अवसरले निर्मलालाई ठूलो राहत मिलेको छ ।”

केन्द्रमै कार्यरत आफ्नै चार जना गर्भवती स्टाफलाई समेत नेपालगञ्ज रिफर गरिएको बताउँदै मेडिकल अधिकृत जैसीले सबै खाले स्वास्थ्य उपचार सेवा अभावले विकट क्षेत्रका नागरिकहरुलाई महंगो खर्चले गरिबीतर्फ धकेल्न बाध्य बनाएको प्रतिक्रिया दिनुभयो । यो समयमा चँदारा लाखौं खर्च बचेर ऋणी हुनबाट बचेको उहाँको तर्क थियो ।

उहाँले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पछिल्लो समयमा हुम्लाको ताजाकोट, सर्केगाड, अदानचूली गाउँपालिका, मुगुको सोरु, खत्याड गाउँपालिका र कालीकोटको पलाँता गाउँपालिका र रासकोट नगरपालिकाको रिफरल सेन्टरका रुपमा विकास हुँदै गएको जनाउनुभयो । मुगुवासी चँदाराको यो सफल शल्यक्रियाले सर्वत्र राम्रो सन्देश फिँजाएको अधिृकत जैसीको भनाई थियो ।

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरीले प्राथमिक उपचार केन्द्रमा गरिएको सफल शल्यक्रिया बाजुरेली इतिहासमा पहिलो र उपलब्धिमूलक घटना भएको बताउनुभयो । नगरप्रमुख गिरीले भन्नुभयो, “मानव जीवनका लागि स्वस्थ जीवन पहिलो र महत्वपूर्ण कुरा हो र जसको व्यवस्थापन राज्यले गर्नुपर्दछ । नेपालको संविधानले यसलाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ ।”

लाखौं खर्च गरेर जोखिमपूर्ण जीवनलाई बचाउन गर्नुपर्ने कष्टकर बाध्यता र त्यसले सृजना गर्ने गरिबीबाट मुक्त गराउने प्रतिष्ठानको चिकित्सक टोलीप्रति उहाँले कृतज्ञता प्रकट गर्नुभयो । संविधानले दिएको अधिकार नागरिकहरुले प्रयोग गर्न पाउन् भनेर हुम्ला, मुगु, कालीकोट र बाजुराको ट्रान्जिट बिन्दु मानिने कोल्टीमा जग्गा किनेर १० शैयाको अस्पताल निर्माणका लागि तयारी भईरहेको नगरप्रमुख गिरीले
बताउनुभयो ।

नियमित रुपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र बुढीनन्दा नगरपालिका कोल्टी बाजुराबीच सम्झौता भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ओमजंग शाहीले जानकारी दिनुभयो । प्रतिष्ठानको विस्तारित गुणस्तरीय स्वास्थ्य उपचार सेवाले पछिल्लो समयमा स्वास्थ्य केन्द्रमा सयौंको संख्यामा बिरामीको चाप बढ्दै गएको अधिकृत शाहीले बताउनुभयो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भएको गर्भवती निर्मलाको जटिल शल्यक्रियाले नागरिकलाई घर नजिकै गुणस्तर सेवा पाईने विश्वास जगाएको छ । यसबाट सुदूरपश्चिमको कोल्टी बाजुरा मात्र नभएर त्यससँग जोडिएका हुम्ला, मुगु र कालीकोट केही स्थानीय तहका नागरिकहरुलाई कठिन भूगोलकै बीचमा भएपनि गुणस्तरीय स्वास्थ्य उपचार सेवा पाउन सकिने आशा पलाएको छ ।

काठमाडौंमा चौकैपिच्छे भेटिने अस्पतालका अगाडि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुका नागरिकहरुले सामान्य उपचार सेवा लिन घण्टौं हिड्नुपर्ने विवशताले राज्य स्वयंलाई लज्जित बनाएको कर्णालीका नागरिक समाजका अगुवा पिताम्बर ढकालले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सेवा सुनिश्चितता गर्न तीनै तहका सरकारहरुको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।”

मूलतः आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित कर्णाली तथा सुदूरपश्चिमका अतिविकट जिल्लाहरुले पछिल्ला केही वर्षदेखि जटिल खालको स्वास्थ्य सेवासमेत आफ्नै ठाउँमा पाउन थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा विस्तार गरेपछि दुर्गम कर्णालीमात्र होइन, सुदूरपश्चिमको अति विकट मानिने बझाङ, बाजुरा र अछामसम्मका नागरिकहरुलाई राहत मिल्न थालेको हो ।

प्रतिष्ठानले कर्णालीका १० र सुदुरपश्चिमका तीन जिल्लालाई आफ्नो विशेष कार्यक्षेत्र बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने योजनालाई अघि बढाइएको अस्पताल निर्देशक डा.मंगल रावलले जानकारी दिनुभयो । विस्तारित गुणस्तरीय स्वास्थ्य सेवाको योजना अनुसार बाजुराको कोल्टी पुगेको विशेषज्ञ चिकित्सकहरुको टोलीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै मुगुकी एक गर्भवती महिला र नवजात शिशुको ज्यान र पैसा दुवै जोगाउन सफल भएको घटनाले थप उत्साह मिलेको उहाँले बताउनुभयो ।

निर्देशक डा.रावलले भन्नुभयो, “नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकअन्तरगत धारा ३५ मा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धीको हक सुनिश्चितता जुम्ला प्रतिष्ठानले अख्तियार गरेको गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँग सम्बन्धित ‘कर्णाली मोडल’ हेल्थ केयर नीतिले गर्छ । जसलाई मूल मियो बनाएर हामी अगाडि बढिरहेका छौं ।”

‘कर्णाली मोडल’ हेल्थ केयर नीतिले यहाँ दुर्गम गाउँका नागरिकहरुको स्वास्थ्य अधिकारको प्रत्याभूति गराउने उहाँले दावी गर्नुभयो । कर्णालीको मानव विकास सुचाङ्कलाई स्वास्थ्य, शिक्षा र अनुसन्धानका माध्यमबाट माथि उठाउन सहयोग पुर्याउने स्वास्थ्य क्षेत्रको एकमात्र धरोहर प्रतिष्ठानलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने निर्देशक डा.रावलको भनाई छ ।

ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डाक्टर नभईरहेका बेला प्रतिष्ठान जुम्लाद्वारा दुर्गम जिल्लाका नागरिकहरुका लागि गुणस्तरीय स्वास्थ्य उपचार सेवामा बढोत्तरी गरेपछि सुर्खेत, नेपालगञ्ज, चितवन, काठडामाडौंलगायतका सुविधा सम्पन्न शहरसम्म पु¥याउनु पर्दा हुने महंगो खर्च र गर्भवतीको स्वास्थ्य जोखिममा समेत अब न्यूनिकरण हुने अपेक्षा कर्णाली तथा सुदूरपश्चिम प्रदेशवासीले गरेका छन् ।

प्रतिकृया दिनुहोस्