OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुर्खेतआश्विन १३, २०७७काठमाडौं
११३२ पटक

१३ असोज २०७७, मंगलबार

गाडीको मुनितिर फोहोरमाथि उत्तानो परेर उमेर नपुगेको एउटा बालकले बिग्रेका गाडीहरुको पाटपुर्जा बनाईरहेको दृश्य हामी कमैले देखेका छौं होला । यो दृश्य देख्दा धेरैलाई आश्चर्य लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका ४ (साविक सुकाटिया गाविस २) कालीकोटका खेमराज चौलागाई १६ वर्षे उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलाइनुहुन्छ र सँधैझैं उत्तानो परेर गाडी बनाईरहेको देखिनुहुन्छ ।

धेरै अभिभावकका बालबालिकाहरु आज सामाजिक सञ्जालमा गेम खेलेर, गीत बजाएर, युट्युव हेरेर, कमेन्ट गरेर वा भए नभएका फोटो पोष्ट गर्दै दिन बिताईरहेको घटनाहरु खोज्नु जानुपर्दैन । अभिभावकले मोबाइल नकिनेको भन्दै आत्महत्या गर्ने सन्तानहरुको समाचार पनि पढेकै छौं । कतिपयले सामाजिक सञ्जालबाटै साईबर अपराध गरेको कुरा पनि हामी यत्रतत्र सुन्न पाउँछौं । यस्तो परिवेशमा सानो उमेरका चौलागाईले भने आफूलाई बाल अवस्थामै श्रमसँग जोडेर आत्मनिर्भर बनाउने एउटा असामान्य पात्रका रुपमा उभ्याउनुभएको छ ।

कक्षा ५ सम्म कर्णाली अंग्रेजी बोर्डिङ स्कुल ताडी कालीकोटमा अध्ययन गर्नुभएका उहाँले सातदेखि १० कक्षासम्म जनजीवन मावि ताडी र हाल १२ कक्षाको अध्ययन पनि सोही विद्यालयमा गर्दै आउनुभएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गर्दा गणित विषयको ट्युसन शुल्क तिर्न नसक्दा आर्थिक आम्दानीको विकल्प खोज्ने क्रममा मिस्त्री काम शुरु गरेको चौलागाईले बताउनुभयो ।

“गरिबीका कारण दुई वर्ष अघि कक्षा १० मा गणित विषयको ट्यूसन पढ्दै गर्दा शिक्षकले मागेको शुल्क तिर्न सकिन । निकै हिनता बोध भयो ।” उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था कमजोरले पढाईमा अवरोध आउन थालेपछि कमाएर पढ्ने विकल्प खोज्दा पासाङ् अटोपार्ट्स कालीकोटमा मिस्त्रीको काम मिल्यो ।” पछि त्यही कामबाट आर्थिक जोहो हुन थालेको उहाँले बताउनुभयो ।

शुल्क तिर्न नसकेका कारण एसईई परीक्षा दिँदा गणित विषयमा फेल भएको तीतो अनुभूति सुनाउँदै उहाँले ११ कक्षाको परीक्षामा एक महिना विदा लिएको र नतिजा बी प्लस आएको बताउनुभयो । कोरोना महामारीका कारण भने १२ कक्षाको पढाई र परीक्षा दुवै अन्योल अवस्थामा रहेको उहाँको भनाई थियो ।

उमेर सानो देखिएपनि उहाँको काम ४० वर्षको व्यक्तिले गर्ने भन्दा कम छैन । गाडीको फोहोर र जमिनको धुलोमा लट्पटिएर बिग्रेका पाटपूर्जा बनाउनु चौंलागाईको दैनिकी बनेको छ । जहाँ जतिबेला गाडी बिग्रन्छ, चालकको आग्रहमा त्यसको ममर्त गर्ने र नयाँ पाटपूर्जा हालेर सञ्चालनमा ल्याउने काम उहाँले गर्दै आउनुभएको छ । अहिले चौलागाईलाई सफल अटोपार्ट्स कालीकोटको काम भ्याईनभ्याई छ ।

१२ कक्षामा अध्ययनरत चौलागाई अहिले १८ वर्षतिर लाग्नुभयो । दुई वर्ष अघिदेखि संघर्षको यात्रा थाल्नुभएका उहाँले गरिबीका कारण आफ्नो जीवनको ईञ्जिनियर बन्ने धोको अधुरो बनेको दुखेसो गर्नुभयो । “घरमा एक दिदीसहित चार बहिनी छन् । बुबा कवाडी काम गर्नुहुन्छ । आमा गृहणी हुनुहुन्छ,” उहाँले भन्नुभयो, “जग्गाजमीन नहुँदा परिवारको जीवन गुजारा गर्न मेरो कामले सघाएको छ ।”

हाल चौलागाईले सफल अटो पार्ट्स कालीकोटमा काम गरिरहनुभएको छ । भोक, गरिबी, अभाव, अशिक्षा र उत्पीडन जीवनमा केही गर्ने अवसर प्रदान गर्दो रहेछ भन्ने अनुभव उहाँलाई मिलेको छ । चुनौति र समस्यालाई अवसरमा बदल्नेहरु समाजमा फरक इतिहास निर्माण गर्छन् भन्ने बुझेको बताउँदै चौलागाईले ईञ्जिनियर बन्ने सपना तुहिएपनि गाडी ईन्जिनियर बन्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिनुभयो ।

दिदी टाउकोको बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने कुरोले अहिले पिरोल्दै आएको उहाँले बताउनुभयो । अन्य चार बहिनीको पढाईलाई पनि उहाँले हेर्दै आउनुभएको छ । यद्यपि बाल्यकालमै आफूलाई श्रमसँग जोड्नुभएका चौलागाईको कामले आत्मनिर्भर बन्न उमेरले छेक्दैन भन्ने सन्देश सर्वत्र फिजाएको छ ।

प्रतिकृया दिनुहोस्