OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ २८, २०७७जुम्ला,
९८६ पटक

खलङ्गा असार २८ गते । जिल्ला समन्वय समिति जुम्लाले तेस्रो जिल्लासभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति , स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको हो । जिल्लाको समसामयिक बिकासको अवस्थाको बिषय तथा समिक्षा सहित जिल्लासभा शुरु भएको जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले जानकारी दिनुभयो ।

जिल्ला सभाको उद्धाटन गर्दै प्रमुख अतिथि जुम्लाका प्रतिनिधिसभाका सांसद गजेन्द्र बहादुर महतले स्थानीय तहको विकास बजेटलाई समयमै चलयमान गर्न स्थानीय तहलाई निर्देशन गर्नुभएको छ । उहाँले जति चाडो रकम चलयमान हुन्छ त्यति बिकास पनि चाडो हुने र राज्यलाई फाईदा हुने बताउनुभयो । जिल्लाका सातबटै स्थानीय तहको उपस्थितिमा सांसद महतले कर्णाली प्रदेश सरकारले समेत बिकास बजेट खर्च गर्न ढिलाई गरिरहेकाले चाडै योजनामा काम गने आवश्यक रहेको बताउनुभयो ।

सभाको उद्धघाटनमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जिल्ला समन्वय समिति जुम्लाको समन्वयको भूमिका रहेकाले स्थानीय तहको आवश्यक सहयोग रहिरहने बताउनुभयो । उहाँले चाडै अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र जिल्लाका सरकारी कार्यालयहरुको उपस्थितिमा समिक्षा कार्यक्रम समेत गरिने बताउनुभयो ।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले प्रदेश सरकार र स्थानीय तहबीचमा समन्वय प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार कति जिम्मेवारी छ भन्ने बिषय कोभिड १९ मा स्थानीय सरकारले गरिरहेको कामले देखाएको बताउनुभयो । उहाँले स्थानीय तहको कामले संघीयताको आधार तयार भएको दावी समेत गर्नुभयो ।

जिल्लासभामा गाउँपालिका महासंघका केन्द्रीय सदस्य तथा तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले प्रदेश सरकारले असार पहिलो सातानै योजना पारित गरेमा स्थानीय सरकारलाई सजिलो हुने बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिको भूमिका थप प्रभावकरी समन्वय हुनेमा जोड दिनुभयो । जिल्लासभामा कोरोना रोकथाम देखी जिल्लाको विकासका बारेका सवालहरुमा छलफल भएको थियो ।सभामा जिल्लाले पठाएका योजनाहरु प्रदेशको प्रथामिकतामा नपरेका जिल्ला समन्वय समितिले बताएको छ । यसैगरी सोही अवसरमा प्रदेश सरकारले गरेका कामहरुको स्थलगत अनुगमन गरिएको जानकारी गरिएको थियो । अनुगमनमा देखिएका तस्बिर सहित गरिएको प्रस्तुतीकरणमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका भौतिक संरचनाहरु प्राविधिक मापदण्डमा केही चुकेको जानकारी गरिएको छ ।

के के भए निर्णय ?
जिल्लासभाले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । उपप्रमुख कार्मा बुढाका अनुसार जिल्लामा नर्सरी सम्वन्धी निर्देशिका पास गरिएको छ । जिल्ला सभाले कोभिड १९ विरुद्ध लड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित सम्पूर्णलाई धन्यवाद दिदै सजग रहन आवह्रान गरिएको छ ।
यसैगरी स्थानीय तहका जनप्रतिनिधी कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तथा आवश्यक सहयोगका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने , स्थानीय तह, प्रदेश र संघका काममा समन्वयात्मक ढंगले अनुगमन सहित निर्णय भएको उपप्रमुख बुढाले थप्नुभयो ।

 

प्रतिकृया दिनुहोस्