OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २, २०७७ सुर्खेत
४७७ पटक

२ असार २०७७, मंगलबार

कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । नेता शाहीले ‘कोभिड–१९’ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी प्रदेशलाई यो विपदबाट जोगाउनतर्फ केन्द्रित रहेर परीक्षणको दायरा बढाउन माग गर्नुभएको छ ।

“कर्णालीमा कोरोना संक्रमण अनियन्त्रित ढंगले फैलिदै गएकोले सरकारको ध्यानाकर्षण गराएका छौं,” उहाँले भन्नुभयो, “संक्रमणका आधारमा प्रत्येक स्थानीय तहलाई न्यूनतम रु.एक करोडदेखि तीन करोडसम्म बजेट उपलब्ध गराउन पनि प्रदेश सरकारलाई सुझाएका छौं ।” ‘कोभिड–१९’ को प्रकोप नियन्त्रण, यसको अल्पकालीन र दिर्घकालीन नकरात्मक प्रभाव न्यूनीकरण गरी यहाँका नागरिकहरुलाई विपद्बाट जोगाउन कांग्रेस संसदीय दलले २२बुँदे सुझावसहित सरकारलाई ध्यानाकर्षण गरिएको उहाँले बताउनुभयो ।

अत्याधिक संक्रमण देखिएका पालिकालाई सिल गरी प्रदेशका सम्पूर्ण नागरिकको स्वास्थ्य परीक्षण गर्न, दश जिल्लामा कम्तिमा दुईवटा कोरोना केन्द्रित एम्बुलेन्स व्यवस्था गर्न, स्वास्थ्यकर्मीलाई आवश्य स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नका लागि फजुल खर्चहरु, अनुदानका नाममा बाँडिने बजेटहरुलाई तत्काल कटाएर यो महामारीको नियन्त्रण र रोकथाममा लगाउनसमेतका सुझाव प्रदेश सरकारलाई दिईएको नेता शाहीले जनाउनुभयो ।

उक्त ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकार यसमा निकै तदरुकताका साथ लागिपरेको बताउनुभयो । प्रतिपक्षी दलको ध्यानाकर्षणले सरकारलाई काम गर्न थप पृष्ठपोषण हुने भन्दै मुख्यमन्त्री शाहीले सिंगो मानव समुदाय एक भएर कोरोना महामारी विरुद्ध लड्नुपर्ने भएकोले साझा दायित्वसाथ अघि बढ्न सबै क्षेत्र तथा तहलाई अपिल गर्नुभयो ।

प्रतिकृया दिनुहोस्