OnlinePana

आज : २०८३ आषाढ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०८३काठमाडौं
१७ पटक

२९ असार २०८३, सोमबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सुर्खेतले ‘डिजिटल स्वास्थ्य’सम्बन्धी क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम गरेको छ ।

मन्त्रालयको आयोजना, छाया नेपालसँगको सहकार्य तथा न्याय हेल्थको प्राविधिक सहयोगमा दुई दिने डिजिटल स्वास्थ्यसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा टेलिमेडिसिन, विद्युतीय स्वास्थ्य तथा मेडिकल रेकर्ड र डिजिटल स्वास्थ्य सेवाको प्रवाह, त्यसले पारेको प्रभाव एवं भोगिएका समस्या, समाधानका उपाय तथा सामना गर्नुपर्ने चुनौतिका बारेमा समीक्षाका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि कार्यक्रम गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले टेलिमेडिसिनमा नेपालको इतिहास, कर्णाली प्रदेशमा यसको अवस्था, कार्यन्वयनमा देखिएका चुनौती र प्रदेश सरकारले गरेका अभ्यासका बारेमा जानकारी दिनुभयो । भौगोलिक विकटता, प्रशासनिक दुर्गमता, गरिबी, स्वास्थ्य र शिक्षाबाट पहुँचविहीन यहाँका नागरिकहरुलाई नजिकको स्वास्थ्य चौकीबाटै सेवा प्रवाह गराउन सकियोस् भन्ने हेतुले क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख शाहीले बताउनुभयो ।

उक्त मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माले डिजिटल स्वास्थ्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारले गरेका र कर्णाली प्रदेशभा भएका नीतिगत व्यवस्था तथा चुनौतिका बारेमा जानकारी दिनुभयो । यसको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकारले जोड दिएको जनाउँदै अधिकृत शर्माले कर्णालीका नागरिकका लागि डिजिटल स्वास्थ्य सेवाले मानव अधिकार रक्षा र सामाजिक न्यायको अनुभूति गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

छायाँ नेपालका प्रमुख मीनबहादुर रावलले संस्थाले कर्णालीका नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यान राखेर यस क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दै आएको बताउनुभयो । न्याय हेल्थका प्रतिनिधि रोशन थापाले कर्णाली प्रदेशमा विद्युतीय स्वास्थ्य तथा विद्युतीय मेडिकल रेकर्डको कार्यान्वयनको अवस्था, भोगेका समस्या, समाधानका निम्ति गरिएका प्रयास तथा प्राप्त पृष्ठपोषणका बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा बिरामीको नाम दर्ता, कागजात अपलोड, बिरामीको समस्या, लिईरहेको औषधि, त्यसको प्रभावका आधारमा सम्बन्धित रोगको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले परामर्श दिने तथा जटिल प्रकृतिको रोग भएका बिरामीलाई प्रेषण गर्ने सम्बन्धमा जानकारी गराइएको थियो । मूलतः कर्णालीका नागरिकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले डिजिटल स्वास्थ्य सेवा प्रवाहको कार्यक्रमलाई अगाडि बढाएको छ ।

समीक्षामा प्रादेशिक कार्यालयका निर्देशक, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्लास्थित प्रादेशिक अस्पताल, स्थानीय तहका (नलगाड नगर अस्पताल, साल्कोट प्राथमिक स्वास्थ्य केन्द्र, दुल्लु अस्पताल)का चिकित्सक तथा स्वास्थ्यकर्मी, सम्पर्क व्यक्ति, विद्युतीय स्वास्थ्य तथा मेडिकल रेकर्डरहरुलगायत पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्