OnlinePana

आज : २०८३ आषाढ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ८, २०८३काठमाडौं
६ पटक

८ असार २०८३, सोमबार

सुर्खेतः पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानशीलता बढाउन कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको छ । पिपल ईन निड (पिन)अन्तरगत ‘प्रतिबद्ध–३’ को समापनसँगै ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रतिबद्ध–३ समापन तथा प्रतिबद्ध–४ शुभारम्भ कार्यक्रम’मा ‘प्रतिबद्ध–४’ परियोजना लागु हुनेबारे जानकारी दिइएको हो । उक्त कार्यक्रममा पिन कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले युरोपियन युनियनको आर्थिक सहयोगमा पिपल ईन निड, आत्मनिर्भर सेवा केन्द्र, सेभ द चिल्ड्रेन ईन्टरनेश्नल र स्कट विल्सन नेपालको साझेदारीमा प्रतिबद्ध–४ परियोजना लागु भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश संयोजक अधिकारीले रु.३० करोड ५७ लाख ९७ हजार ९६० बजेटमा सञ्चालित ‘प्रतिबद्ध–३’ परियोजनाका मुख्य कार्य, सिकाई, चुनौति र अपेक्षाका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो । उहाँका अनुसार बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १० स्थानीय तहमा सन् २०२४–२०२६ जुन सम्म ‘प्रतिबद्ध–३’ को कार्यावधि सम्पन्न भएसँगै ‘प्रतिबद्ध–४’ लागु गरिएको छ ।

परियोजनाका व्यवस्थापक शालिकराम घिमिरेले ‘प्रतिबद्ध–४’ को परिचय, प्राथमिकता क्षेत्र, उद्देश्य, योजना तथा साधन स्रोत, संकट अनुकुलन कोष र कार्यान्वयनको ढाँचाबारे आफ्नो प्रस्तुति राख्दै सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको केदारस्यू र थलारा गाउँपालिका, कर्णाली प्रदेशको जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, लुम्बिनी प्रदेशको प्यूठानको सरुमारानी र माण्डवी गाउँपालिकामा उक्त परियोजना लागु भएको बताउनुभयो । उहाँका अनुसार उक्त परियोजना सञ्चालनका लागि रु.१५ करोड ८४ लाख ७२ हजार २५६ बजेट रहेको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव बिपीन आचार्यले कर्णाली जस्तो उच्च जोखिम भएको भूगोलमा प्रतिबद्ध परियोजनाको निरन्तरताले विपद् पूर्वतयारी, प्रतिकार्य, राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने बताउनुभयो । परियोजनालाई बढाएर लिन सकिए यहाँका नागरिकका लागि टेवा पुग्ने र तथ्याङ्क अभिलेखीकरण पनि हुने उहाँको भनाई थियो ।

प्रदेश सचिव लक्ष्मीकुमार विकले सामुदायिक विपद् व्यवस्थापन समितिलाई वडासँग जोडेर लैजान र बाढी, पहिरोजस्ता विपद्का सूचना एकैपटक लिन सकिने संयन्त्र निर्माण गरी अगाडि बढ्न सुझाउनुभयो । शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख उत्तम गौतमले प्रतिबद्ध परियोजनाले बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा राम्रो काम गरेको बताउनुभयो । उहाँका अनुसार परियोजनामार्फत् स्थानीयको क्षमता विकास र वायोइन्जिनिरिङका क्षेत्रमा पनि राम्रो काम भएको छ ।

पिपल ईन निड (पिन)का देशीय निर्देशक सिमोन डी भिसेन्जले बाढी, पहिरो र भूकम्पको उच्च जोखिम भएका प्रदेशका जिल्लामा रहेका स्थानीय तहमा रहेर परियोजनाले काम गर्दै आइरहेको बताउनुभयो । विपद् संवेदनशीलता ध्यानमा राखेर कर्णाली जस्ता विकट भूगोलमा रहेका नागरिकहरुलाई जोखिमबाट बचाउन, तत्काल अस्थायी आवासको व्यवस्थापन, विपद् सचेतना, समुदायको क्षमता अभिवृद्धि, बहुप्रकोप पूर्वतयारी र पूर्वकार्य सुदृढीकरणका लागि सामाजिक सहभागितामूलक पहलमा जोड दिइएको निेर्देशक भिसेन्जले बताउनुभयो ।

उक्त कार्यक्रममा परियोजनाले हालसम्म हाँसिल गरेका उपलब्धि, सिकाई, चुनौति र प्रभावका बारेमा समीक्षा गर्दै असल अभ्यासहरुको पहिचान, दस्ताबेजीकरण र त्यसको दीगोपन सुनिश्चितता गर्नु आवश्यकता रहेको औंल्याइएको थियो ।

 

प्रतिकृया दिनुहोस्