OnlinePana

आज : २०८३ आषाढ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०८३काठमाडौं
६ पटक

४ असार २०८३, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमाथि छलफल सुरु भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको १२औं बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १३८ उपनियम २ र ३ बमोजिम राजस्व र व्ययको अनुमानसहितको आगामी आव.२०८३÷०८४ को बजेटमाथि सामान्य छलफल गरियोस् भनि सभामा प्रस्ताव गर्न समय दिनुभयो । उक्त प्रस्ताव सभाबाट सर्वसहमतिले स्वीकृत भएसँगै बजेटमाथिको छलफल सुरु भएको हो ।

बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य सन्तोषी शाही योजना बाँडफाँडमा हुने बदमासीलाई घटाउन नसकेको तथा लाभ लिनै पर्नेलाई बजेटले सम्बोधन गर्न नसकेको औंल्याउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कर्णालीको पर्यटन संभावनालाई सरकारले जोड्नुपर्ने, कृषिलाई व्यवसायीकरण, प्रशासनिक खर्च नियन्त्रण गर्नु, अनुत्पादक खर्च घटाउनुपर्ने धारणा बैठकमा राख्नुभयो ।

सदस्य हिक्मतबहादुर विष्टले बजेट आम्दानी र खर्चको फेहरिस्त मात्र नभई विकासको खाका, समृद्धिको सपना र समुन्नतिको प्रबन्ध पत्र भएको बताउनुभयो । उहाँले पूर्वाधार विकास कर्णालीको पहिलो प्राथमिकता भएको र बजेटले त्यो सम्बोधन गरेको जनाउनुभयो । मानव पूँजीको निर्माण, नवप्रवर्तन, उद्यमशीलता, रोजगारी सिर्जना, शासकीय सुधार, जनमुखी प्रशासन र सदाचार जस्ता महत्वपूर्ण विषय बजेटमा आउनु सकरात्मक पक्ष भएको टिप्पणी गर्नुभयो ।

बजेट केही हदसम्म राम्रो भएपनि क्षेत्रगत प्राथमिकतामा कृषि पहिलो भएपनि बजेटमा उचित सम्बोधन हुन नसकेको उल्लेख गर्नुभयो । कृषि र पर्यटन जस्तो महत्वपूर्ण विषयमा सरकारले गम्भीर हुनुपर्ने बताउनुभयो । त्यसैगरी सदस्य रनसिंह परियारले नीति तथा कार्यक्रम नआएपनि दलित आयआर्जनका लागि सरकारले चालु आर्थिक वर्षको रु.पाँच करोडबाट बढाएर रु.१२ करोड पुर्याएको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले बैंक खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रम नआउनुको कारणबारे सरकारलाई जवाफ दिन आग्रह गर्नुभयो ।

सदस्य जानकी सिंहले कर्णालीको अभाव जनशक्ति पुरा गर्नतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उद्योग निर्माणमा ध्यान दिएर यहाँको स्रोत साधनलाई उपयोग र परिचालन गर्नेतर्फ बजेट र कार्यक्रम हुनुपर्ने उहाँको भनाई थियो । त्यसैगरी, प्रदेशसभा सदस्य जीतबहादुर मल्लले कर्णालीले आफ्नो आम्दानीलाई वृद्धि गर्ने कार्यक्रममा जोड दिन सुझाउनुभयो । उहाँका अनुसार करको दरमात्र नभएर पर्यटनको संरचना निर्माण गरी यसको दायरा बढाउनुपर्छ ।

बैठकको आकस्मिक समयमा बोल्दै प्रदेशसभा सदस्य दक्षिणा शाहीले सान्नीत्रिवेणी गाउँपालिका ४ कालीकोटका सुरेन्द्रबहादुर शाहीलाई सोही गाउँपालिकाको मुम्रा लेकमा ढुंगा प्रहारबाट हत्या गर्नेलाई यथाशीघ्र कानुनी कारवाहीमा ल्याउन र सोही वडाका नेत्रराज शाही सान्नीगाडमा बाघको आक्रमणबाट घाईते भएको घटनाबारे प्रदेश सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।

छलफलमा उठेका जिज्ञासा तथा प्रश्नमाथिको जवाफ आर्थिक मामिलामन्त्री शाहले भोलि दिनुहुने जनाउँदै सभामुख गुरुङले असार ५ गते दिउसो ३ः०० बजे बस्ने सूचना गर्नुभयो ।

प्रतिकृया दिनुहोस्