OnlinePana

आज : २०८३ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३, २०८३काठमाडौं
९ पटक

३ असार २०८३, बुधबार

अन्तराष्ट्रियस्तरको सुविधासम्पन्न कर्णाली प्रदेश रंगशाला सुर्खेतमा पहिलो पटक ‘४६औं नेशनल एथ्लेटिक्स च्याम्पियनसिप २०८३’ हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाल एथ्लेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवबिक्रम शाहले पहिलो पटक राष्ट्रियस्तरको एथ्लेटिक्स च्याम्पियनसिप गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “च्याम्पियनसिपमा पुरुष तथा महिलातर्फ १४÷१४ गरी २८ इभेन्ट हुनेछन् । यसमा सात प्रदेश, तीन विभागीय टोलीको सहभागिता रहनेछ । दश टोलीबाट १२० महिला र १२० पुरुष गरी २४० जना खेलाडीहरुले २८ स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।”

तीन विभागीय टोलीमा नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीतर्फको पुलिस क्लब रहेको बताउनुभयो, संघबाट दक्ष प्राविधिक, जज, टाइमकिपरसहित ६० जना अफिसियल, दश प्रशिक्षक, दश म्यानेजर र प्राविधिक ६० गरी ३२० जनाको सहभागिता हुने र उक्त च्याम्पियनसिप सम्पन्न गर्न रु.७० लाख बजेट खर्च हुने जनाउनुभयो ।

उक्त सम्मेलनमा प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेल क्षेत्रको प्रवद्र्धन तथा विकासमा विशेष जोड दिइएको बताउनुभयो । उहाँले कर्णालीमा रारा– छायानाथ ट्रेल रेस, जुम्ला–रारा अल्ट्रा म्याराथन, काक्रेबिहार हाफ म्याराथुन, यु–१९ महिला क्रिकेट प्रतियोगिता जस्ता राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सम्पन्न हुनुले कर्णालीलाई खेलको हब बनाउन र खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।

आजसम्म प्रदेशमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि विशेष आधार तयार गरेको र कर्णालीमा खान, बस्नलगायत सबै क्रियाकलाप गर्न सकिन्छ भन्ने विश्वास दिलाएको बताउनुभयो ।

च्याम्पियिनसिपका विजेता खेलाडीहरुलाई क्रमशः १५, १० र पाँच हजार नगद पुरस्करसहित टफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । नेपाल एथ्लेटिक्स संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग एवं समन्वय र प्रदेश एथ्लेटिक्स संघ कर्णालीको सहआयोजनामा यही असार ५, ६ र ७ गते कर्णाली प्रदेश रंगशालामा च्याम्पियनसिप सञ्चालन हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्