OnlinePana

आज : २०८३ आषाढ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०८३काठमाडौं
१५ पटक

१ असार २०८३, सोमबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले राजश्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गरेको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको १०औं बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले आगामी आव.का लागि रु.३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेट अनुसार पूँजीगततर्फ रु.२० अर्ब ७४ करोड ६७ लाख १२ हजार (५८ दशमलव ३१ प्रतिशत) र चालुतर्फ रु.आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार (२४ दशलव ३१ प्रतिशत) विनियोजन गरिएको उहाँले बताउनुभयो । यो बजेट चालु आर्थिक वर्षको तुलनामा सात दशमलव २८ प्रतिशतले वृद्धि भएको हो ।

योजनामन्त्री शाहका अनुसार वित्तीय व्यवस्थापनतर्फ रु.५० करोड (एक दशमलव ४१ प्रतिशत), स्थानीय तहमा वित्तीय हस्तारणतर्फ रु.पाँच अर्ब ५४ करोड ७२ लाख ८० हजार (१५ दशमलव ६७ प्रतिशत विनियोजन गरिएको छ । आगामी आवको लागि अनुमानित खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आयबाट रु.८५ करोड पाँच लाख ९० हजार र चालु आव.को खर्च नभई बचत हुने रकम रु.छ अर्ब ४१ करोड ५१ लाख नौ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुने रकम रु.१० अर्ब ६६ करोड ५० लाख ५९ हजार विनियोजन गरिएको छ ।

त्यस्तै, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु.१० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट रु.पाँच अर्ब ६७ करोड २५ लाख, संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रु.६६ करोड ७८ लाख र विशेष अनुदानतर्फ रु.४८ करोड ५६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । संघीय सरकारबाट सशर्त अनुदानबाट प्राप्त हुने वैदेसिक सहायताबाहेक अन्य वैदेसिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि रु.९६ लाख स्रोत परिचालन गर्ने जनाइएको छ ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष .२०८२÷०८३ का लागि रु.३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रदेश सरकारले रु.दुई अब ४० करोड १८ लाख ५३ हजार बजेट बढी विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस्