
१७ जेठ २०८३, आईतबार
सुर्खेतः कर्णालीको छोरीहरुको सशक्तिकरणका लागि ‘दशबुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउण्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दशबुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो ।
जेठ १६–१७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरुबाट प्राप्त सुझावका आधारमा १० बुँदे कर्णाली घोषणापत्र सार्वजनिक गरिएको छ । उक्त सम्मेलन मूलतः कर्णालीका छोरीहरुको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैङ्गिक विभेद, कुप्रथालगायतका विभेदहरुको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ ।
त्यस्तै, महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरु समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ, प्रदेश र स्थानीय कानुनहरुको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थाहरुमा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ ।
छोरीहरुको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र ७९ ओटै स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न र सञ्चालनमा रहेका कार्यक्रमहरूलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन, सामुदायिक र संस्थागत विद्यालयहरुमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरुपयोगबाट हुने हिंसा र दुव्र्यवहारको अन्त्यका लागि प्रभावकारी कानुनी, शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ ।
विद्यालय एवं समुदायस्तरमा किशोर–किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, आवश्यक सूचना केन्द्र तथा सेवाहरु र जीवनोपयोगी सीप एवं रुपान्तरणकारी शिक्षा प्रवद्र्धन, विसं.२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट भत्किएका विद्यालय पुनः निर्माणका लागि तत्काल पहल गर्न र पठनपाठनको प्रभावकारी प्रबन्ध गर्न माग गरिएको छ ।
त्यसैगरी, छोरीहरुलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउने वातावरण निर्माणका लागि सबै स्थानीय तह एवं समुदायस्तरमा प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्न माग गर्दै उक्त घोषणपत्रले विसं.२०८२ बैशाख २७, २८ र २९ गते सम्पन्न कर्णाली छोरी सम्मेलन (पहिलो संस्करण)बाट जारी गरिएको घोषणापत्रका बुँदाहरु कार्यान्वयन गर्न सरोकारवालाको पुनः ध्यानाकर्षण गराएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य एवं समन्वयमा ज्योति फाउण्डेसनले दुई दिनसम्म सञ्चालन गरेको सम्मेलनमा कक्षा ११ र १२ अध्ययनरत कर्णालीका ७९ स्थानीय तहबाट दुई÷दुई जना छोरी, राउटे, राजी, कुसुण्डा, बादी, बोटे, समुदाय, अपांगता भएका तथा लैङ्गिक तथा यौनिक, अल्पसंख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायका छोरीसहित करिब २५० भन्दा बढी छोरीहरुको सहभागिता रहेको थियो ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलका नेता मंगलबहादुर शाही, नेकपा एमाले दलका सदस्य जीतबहादुर मल्ल, मन्त्रीलगायत प्रदेशसभा सदस्यहरु, प्रमुख सचिव तथा प्रदेश सचिवहरु, सुरक्षा निकायका प्रमुख, गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी पत्रकारहरु सहभागी रहेको उक्त सम्मेलन अवधिभर ८५ छोरीहरुले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो ।





