
१४ जेठ २०८३, बिहीबार
सुर्खेतः कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी समन्वय बैठक’मा नेपालसहित कर्णालीको मानसिक स्वास्थ्य अवस्थाको तथ्याङ्क सार्वजनिक गरिएको हो । बैठकमा मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माले नेपालमा ४० प्रतिशतमा चिन्ता र २८ प्रतिशतमा निराशा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
कर्णालीमा पनि मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी ‘चिन्ता र उदासिनता’ देखिएको र त्यो नेपालकै तथ्याङ्क सरह रहेको उहाँले बताउनुभयो । उहाँले कर्णालीमा यो समस्या व्यापक बन्दै गएको जनाउँदै आर्थिक वर्ष ०७९÷०८० मा तीन हजार ६८५, ०८०÷०८१ मा १४ हजार १८१, ०८१÷०८२ मा १५ हजार १२० र ०८२÷०८३ नौ हजार ३१९ जनामा मानसिक स्वास्थ्य समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको अन्तसम्म यो संख्यामा वृद्धि हुने देखिन्छ ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८१÷०८२ आत्महत्या प्रयास गर्नेको संख्या २०३, एक हजार ४६२ जनामा कन्भर्जन, सात हजार ४८९ जनामा उदासिनता र १५ हजार ४५० चिन्ता रोग देखिएको छ । त्यस्तै, ०८१÷०८३ मा २३९ जनाले आत्महत्या प्रयास, ८४६ जनामा कन्भर्जन, छ हजार ५७ जनामा उदासिनता र १२ हजार ८२४ जनामा चिन्ता रहेको पाइएको छ । कर्णालीमा ६८ प्रतिशत महिला र ३२ प्रतिशत पुरुषमा मानसिक स्वास्थ्य समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, सिएमसी नेपालका प्राविधिक निर्देशक तथा मनोवैज्ञानिक डा.पशुपति महतले मानसिक स्वास्थ्य समस्याका क्षेत्रमा देशका चार प्रदेश, ५४ जिल्लाका २१५ पालिकामा काम गर्दै आएको बताउनुभयो । डोल्पा र हुम्ला बाहेक कर्णालीका ८ जिल्लाका ३३ पालिकामा आफ्नो कार्यक्षेत्र रहेको बताउँदै उहाँले बालबालिका तथा किशोरीसहित मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि संरक्षणात्मक तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश नेपालको सातै प्रदेशमध्ये मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग रणनीति निर्माण गर्ने पहिलो प्रदेश भएको बताउनुभयो । कर्णालीका आठ जिल्लाका २७ पालिकास्तरमा पनि मानसिक स्वास्थ्य नीति तथा रणनीति बनेको जनाउँदै प्रदेश सरकारको रणनीति कार्यान्वयनमा सरकार प्रतिवद्ध भएको लागेको बताउनुभयो ।
मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले विशेष जनशक्ति खाली नहुने गरी प्रदेश अस्पतालमा व्यवस्थापन गर्ने बताउनुभयो । उपलब्ध जनशक्तिको परिचालन कसरी गर्ने भन्नेमा पनि मन्त्रालय गम्भीर रुपले अगाडि बढेको सचिव श्रेष्ठको भनाई थियो । उक्त बैठकमा स्वास्थ्य सेवा महाशाखा प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाही, कर्णाली प्रदेश अस्पतालमा मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीलगायतले मानसिक स्वास्थ्य समस्या समाधानमा सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताउनुभएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण गर्दै मन्त्रालयका क्षयकुष्ठ अधिकृत खगेन्द्रप्रकाश गैरेले सिएमसी नेपालले आफ्ना गतिविधि तथा कार्यक्रमसँगै बजेटबारे मन्त्रालयलाई जानकारी गराउन सुझाव दिनुभयो । उक्त कार्यक्रममा सरकारी तथा गैरसकारी संघ संस्थाका प्रुमख एवं प्रतिनिधि तथा पत्रकारको सहभागिता रहेको थियो ।





