OnlinePana

आज : २०८३ जेठ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १३, २०८३काठमाडौं
३२ पटक

१३ जेठ २०८३, बुधबार

कर्णालीका नागरिकहरुको मानव अधिकार संरक्षण तथा सम्वद्र्धनका लागि साझा पहल आवश्यक भएको बताइएका छ ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित आयोगको २६औँ वार्षिकोत्सवको अवसरमा बोल्ने वक्ताहरुले मानिसको स्वतन्त्र, भयरहित र सम्मानजनक बाँच्न पाउने अधिकार सुनिश्चितता गर्नु राज्यका सबै अंग, निकाय, क्षेत्र र तहको साझा दायित्व भएका बताएका हुन् ।

उक्त वार्षिकोत्सवको अवसरमा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोगको कर्णाली प्रदेश कार्यालयद्वारा सम्पादित कार्य सन्तोषजनक रहेको बताउनुभयो । उहाँले कर्णालीको मानव अधिकारको अवस्थामा बिगतको भन्दा केही सुधार आएको उल्लेख गर्दै मानव अधिकार संरक्षण र सम्वद्र्धनमा आयोगले आफ्ना कामलाई प्रभावकारी बनाएर लैजान सुझाउनुभयो ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले कर्णालीका केही परम्परागत संरचना, प्रथा र संस्कारका साथै सामाजिक चेतना अभावका कारणले पनि मानव अधिकारका घटना घट्ने गरेको औंल्याउँदै पछिल्लो समयमा आयोगको उपस्थितिले मानव अधिकार संरक्षणमा सहयोग पुगेको बताउनुभयो । सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले आयोगको सक्रियता बढ्नु र दायरा फराकिलो हुँदै जानु राम्रो पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।

आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले नागरिकको समग्र अधिकार रक्षाका निम्ति आयोगको काम, कर्तव्य र अधिकार बमोजिम अगाडि बढेको जनाउँदै यस आर्थिक वर्षमा सम्पन्न कार्यहरुको बारेमा जानकारी गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सभाका सचिव डा.अर्जुनबहादुर खड्का, उर्जा सचिव डा.योगेन्द्र मिश्र, कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव चेतनकुमार तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख ठाकुर प्रसाद पोखरेल, नेपाल कानून व्यावसायी परिषद् कर्णाली प्रदेशका पार्षद् मातृकाप्रसाद खनाल, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष घनश्याम के.सी.लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । आयोगका काम कारवाही माथिको समीक्षा गर्दै विभिन्न सुझाव तथा आगामी दिनहरुमा आयोगले खेल्नुपर्ने भूमिकाबारे आआफ्नो धारणा व्यक्त गरिएको थियो ।

त्यसैगरी, आयोगका मानव अधिकार अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभयो । उक्त कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न मन्त्रालय, सुर्खेत जिल्लास्थित विभिन्न सरकारी कार्यालय, विभिन्न पेसागत महासंघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कानुन व्यवसायी, मानव अधिकारकर्मी, पत्रकार तथा सञ्चारकर्मीहलगायत आयोगका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्