३० बैशाख ३० बुधबार
सुर्खेतः अनलाईन जुवा सट्टेबाजी खेलाएर विभिन्न बैंकमा खाता खोली ठगीमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त ठगीमा संलग्न पञ्चपुरी नगरपालिका ९ सुर्खेतमा शिक्षक पेशा गरी बस्ने ३९ वर्षीय महेन्द्रकुमार बोहोरा, व्यापारी ४२ वर्षीय यामलाल विक र होटल व्यवसायी ४६ वर्षीय डम्बर विकलाई आज पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाको प्रारम्भिक अनुसन्धानबाट करिब रु.दुई करोड ४६ लाख बराबरको शंकास्पद कारोवार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामाजिक सञ्जाल इन्टरनेटका माध्यमबाट ठगी गर्ने मनसायले प्रलोभनमा पारी हारजित हुने गरी अनलाईन जुवा सट्टेबाजी खेलाउने, बैङ्क खाता खोली उक्त कार्यमा लगाई दुरुपयोग गरी शंकास्पद कारोवार गर्ने गरेको गोप्य तथा प्राविधिक सूचनाका आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत प्रहरी टोली गएर पक्राउ गरिएको हो ।
जसमा बोहराले विभिन्न बैंकमा छ वटा खाता खोली ठगीमा संलग्न भएको, व्यापारी विकले विभिन्न बैंकमा पाँचवटा खाता खोली खाता दुरुपयोग गरी शंकास्पद कारोवार गरेको र व्यवसायी विकले विभिन्न बैंकमा नौवटा खाता खोली दुरुपयोग गरी शंकास्पद कारोवार गर्दा प्रारम्भिक अनुसन्धानबाट करिब रु.दुई करोड ४६ लाख बराबरको शंकास्पद कारोवार भएको पाईएकोले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
पक्राउ परेका तीनैजना उपर बैंकिङ कसुर, जुवा सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणलगायत कसुरमा प्रारम्भिक अनुसन्धान भईरहेको जनाउँदै प्रवक्ता बुढ्थापाले अनलाईन ठगी, जुवा, सट्टेबाजीमा संलग्न हुनु वा सहयोग गर्नु गम्भीर अपराध भएकाले आफ्नो खाता, पिन कोड, ओटिपीलगायतका विवरण गोप्य तथा सुरक्षित राखी कसैलाइ सेयर नगरी ठगिनबाट बच्न समेत अनुरोध गर्नुभएको छ ।




