
१५ चैत २०८३, मंगलबार
सुर्खेतः वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत हिलेखालीस्थित सञ्चालनमा आएको ‘कर्णाली फनपार्क’मा दैनिक बच्चादेखि वृद्धसम्मको भिड लाग्ने गरेको छ । कर्णाली फनपार्क प्रालि.सुर्खेतले यही बैशाख ७ गतेदेखि फनपार्क सञ्चालनमा ल्याएपछि दिनहुँ मान्छेहरुको घुँइचो लाग्न थालेको छ ।
कर्णालीमै पहिलो पटक सञ्चालनमा आएको फनपार्क अहिले पर्यटन प्रवर्द्धनकाे आकर्षणको केन्द्र बन्दै गएको छ । साढे दुई बिगाह क्षेत्रफलको जमीनमा निर्माण भएको फनपार्कमा दैनिक अहिले बच्चादेखि वृद्धहरुसम्म त्यहाँ पुग्ने गरेका छन् । अन्य दिनमा दुई देखि ३०० जना जाने उक्त पार्कमा सार्वजनिक विदाको दिनमा अवलोकन गर्ने ५०० जना भन्दा बढी पुग्ने गरेको पार्कका प्रबन्धक चन्द्र केसीले जानकारी दिनुभयो ।
“प्रालि.ले फनपार्क सञ्चालनमा रु.दश करोड लगानी गरेको छ,” प्रबन्धक केसीले भन्नुभयो, “हामीले यसलाई वातावरणमैत्री र साँस्कृतिक अध्ययन तथा अनुसन्धानमूलक पार्कका रुपमा निर्माण गरेका छौैं । अब फनपार्कको मज्जा लिन कर्णालीका मानिसहरुले लुम्बिनी प्रदेशको बाँके नेपालगञ्जमा जानुपर्दैन ।” यतिबेला ७० प्रतिशत बालबालिका, बाँकी युवा, प्रौढ र ज्येष्ठ नागरिकहरु पनि आउने गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गर्मी छल्ने र साँस्कृतिक तथा पर्यावरणीय दृश्यावलोकनले धेरैलाई मोहित बनाउँदै लगेको छ । उक्त पार्कमा लोपोन्मुख अवस्था रहेको फिरन्ते राउटे समुदायको संस्कृति चिनाउने तस्वीरहरु, हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित कला संस्कृति, ग्रामीण परिवेश, विभिन्न धर्म संस्कृतिसँग जोडिएका मूर्तिहरु सजाएर राखिएको छ । त्यस्तै, डल्फिन पार्क, गर्मी छल्न वाटरपार्कमा भिड लाग्ने गरेको प्रबन्धक केसीले बताउनुभयो ।











