

१० बैशाख २०८३, बिहीबार
सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयमा भोलिदेखि ‘बहुविषयमा अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ हुनेभएको छ ।
भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयले बैशाख ११–१३ गतेसम्म सम्मेलनको आयोजना गर्ने भएको हो । “ईन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्यूचर ईन द एज अफ एआई एण्ड डिजिटल ट्रान्सफरमेसन” भन्ने मूल नारामा आधारित रहेर नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तर्राष्ट्रिय सहकार्य, क्षेत्रीय विकास र नीति संवादलाई एउटै साझा मञ्च जोड्ने प्रयास अनुरुप सम्मेलनको आयोजना गरिएकोबारे आज पत्रकार सम्मेलनमार्फत उक्त विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा.यदुप्रसाद ज्ञावलीले जानकारी दिनुभयो ।
कृत्रिम बुद्धिमत्ता, डिजिटल रुपान्तरण र दीगोपनासम्बन्धी नयाँ अवधारणा विकास, शिक्षा, प्रविधि, शासन, अर्थतन्त्र र समाजका जटिल समस्याहरुलाई अन्तरविषयगत दृष्टिकोणबाट विश्लेषण, अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य तथा साझेदारी विस्तार र प्रमाण आधारित नीति निर्माणका लागि सिफारिसहरु गर्ने लक्ष्यसहितको उद्देश्य प्राप्तिका लागि तीन दिनसम्म सम्मेलन सञ्चालन हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सम्मेलन सात प्रमुख विषयमा केन्द्रित हुनेछ । कृषि, वातावरण तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव विकास, कानून, नीति तथा सुशासन, व्यवस्थापन, अर्थशास्त्र तथा उद्यमशीलता, स्वास्थ्य तथा जनसंख्या, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीलगायतका विषयहरुअन्तरगत ३४४ भन्दा बढी अनुसन्धान पत्रहरु प्रस्तुत गरिनेछ ।
कार्यकारी निर्देशक डा.ज्ञावलीका अनुसार सम्मेलनमा २१ देशको प्रतिनिधित्व, पाँच सय भन्दा बढी सहभागी, ३४४ भन्दा बढी अनुसन्धान पत्र प्रस्तुति, विश्वस्तरीय वक्ताहरु, उपकुलपतिहरुको राउण्ड टेबल, डायोस्परा सम्बन्धी आर्थिक उद्यमशीलताको छलफल हुनेछन् ।








