

७ बैशाख २०८३, सोमबार
सुर्खेतः उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले कर्णालीमा डिजेल, पेट्रोल र ग्याँस जस्ता इन्धनको मूल्य वृद्धि रोक्नुपर्ने बताउनुभएको छ ।
‘कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रम’को क्रममा उनेपा प्रदेश पार्टीद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले कर्णाली जस्ता विकट भूगोलका नागरिकहरुको आवागमन र भान्सा महंगो हुन नदिन सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्नेमा बताउनुभयो ।
“कर्णालीमा ठूलो र विकट भूगोल भएकोले आफैमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्याँस जस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,” उहाँले भन्नुभयो, “नजिकको छिमेकी देश भारतले पनि इन्धनमा मूल्य वृद्धि नगरेको भन्दै यसमा सरकारले नागरिकमाथि मूल्य वृद्धिको भार घटाउनुपर्छ र स्तरीकरण गर्न सक्नुपर्छ ।”
दुई तिहाईको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने भन्दै अध्यक्ष घिसिङले सरकारका गलत कदममा सडकबाटै खबरदारी गर्ने चेतावनी दिनुभयो । नेपाल बिद्युत प्राधिकरणको नेतृत्व गर्दा र सरकारमा रहँदा कर्णालीको विद्युतीकरणमा र ट्रान्समिसन लाईनका लागि करिब रु.३५ अर्ब लगानी सुनिश्चित गरिएको उहाँले जिकिर गर्नुभयो ।
उहाँका अनुसार १३२ केभी प्रसारण लाईनको काम जुम्लासम्म भइरहेको छ । छोटो समयमै पार्टी गठनले त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै चुनावमा जानुपर्ने बाध्यता भएकोले हार व्यहोर्नु परेतापनि अबको चुनावमा उनेपा ठूलो पार्टी भएर आउने र वडा तहसम्म संगठन विस्तार गर्ने उहाँको भनाई थियो ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष घिसिङसहित महासचिव धर्म चौधरी, सचिव केदार खड्का, पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश भेला आयोजनाका संयोजक नरबहादुर कार्की, केन्द्रीय सदस्य ठम्बर विष्टलगायतका नेताहरुको सहभागिता रहेको थियो ।








