

२८ चैत २०८२, शनिबार
‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौ संस्करण आजबाट प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा शुभारम्भ भएको छ ।
प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुईनाको बहसको रुपमा विकास हुँदै गएको उत्सव ऋति फाउण्डेसन सुुर्खेतले आयोजना गरेको छ । कर्णाली उत्सव आयोजक समितिको सचिवालयका संयोजक कमल लम्सालले आजदेखि शुभारम्भ भएको उत्सवमा कर्णालीको साहित्य, कला, सङ्गीत, समाज र विकासका विविध विषयमा बिमर्श तथा प्रस्तुति राखिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तीन दिनसम्म सञ्चालन हुने उत्सवमा मोक्षभूमि कर्णालीको भूगोलबाट महिला नेतृत्वदेखि सिमान्त मान्ठ, संघर्ष र सफलताको कथा निर्माणका गरेका पैकला (नायक)हरुको कथा, जेनजेट पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा उर्जा, प्रविधिको विकासबारे हामी विमर्श गर्नेछौं ।”
कार्यक्रमको पहिलो दिन आज वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नेतृत्वमा ‘नारी नेतृत्व’ विषयमा प्रवचन दिनुभयो । सात वर्षसम्म सञ्चालन भएको उत्सवबारे ‘सात वर्ष सात प्रयास’ शीर्षकमा श्रव्य दृश्य सामग्री प्रदर्शन गरिएको थियो । त्यसैगरी, देवन्द्ररमण खनालको ‘कर्णालीमा बैङ्किङ लगानी’ विषयक प्रस्तुति र केशव दाहालको ‘मोक्षभूमि कर्णाली’ विषयक विशेष प्रवचन प्रस्तुत गरियो ।
त्यस्तै, ‘सुइना कर्णालीका’ विषयमा प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटा, खडकबहादु बुढा, लक्ष्मीप्रसाद पोखरेल, रमेशकुमार मल्ल, राधिका रम्तेलसँग पत्रकार रविन्द्र सुवेदीले छलफल गर्नुभयो, ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा पत्रकार आदित्य खनालको सहजीकरणमा प्रतिनिधिसभा सदस्य मनिष खनाल,, जेनजी अगुवाहरु रक्षा बम, धीरज जोशी, र प्रकाश बोहोराले बहस गर्नुभयो ।
पैकेलो शीर्षकमा डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आफ्नो संघर्ष र सफलताको कथा सुनाउनुभयो । ‘शक्तिको सोपान बाँडफाँटदेखि विकाससम्म’ विषयमा कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति विन्दमान विष्ट, गाउँपालिका महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल सरकारका अर्थसचिव डा.घनश्याम उपाध्याय, सुशासनविद् विष्णु अधिकारीसँग छलफल गरिएको थियो ।
उद्यमशील समाज र उजेलो अर्थतन्त्र विषयमा नेपाल बै.क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा, आईबिबिका बिउटी सराफसँग पत्रकार सुजन ओलीले सहजीकरण गर्नुभयो । ‘पोजिसन कर्णाली’ विषयमा हरिहर न्यौपानेले प्रस्तुति दिनुभएको थियो ।
उत्सवको आकर्षण ‘कर्णाली कन्सर्ट शीर्षकमा जुरुक्क कर्णाली’ जदौ हजुर ब्यान्ड, देउडा गायक इब्सल सञ्ज्याल, स्मारिका फुयाल, विपना सिंहलगायतका कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको थियो ।
आयोजक ऋति फाउण्डेसनका अनुसार तीन दिनसम्म चल्ने उत्सवले कर्णालीका मुद्दा, सम्भावना र चुनौतीमाथि बहस सिर्जना गर्दै सांस्कृतिक पहिचान प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।





