
२३ चैत २०८२, सोमबार
सुर्खेतः भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेश मध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउनुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश तथा स्थानीय तहमा बजार अनुगमन निरीक्षणमा संलग्न पदाधिकारी एवं कर्माचारीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा बोल्दै सचिव कर्णले कर्णालीको माटो र यहाँ उत्पादन हुने खाद्य बाली अन्य प्रदेश भन्दा सुरक्षित रहेको बताउनुभयो ।
“हाम्रो खाद्य स्वच्छ र गुणस्तर हुनुपर्छ । शरीरलाई चाहिने आवश्यक तत्व यहाँ उत्पादन हुने खाद्यबालीमा पाइन्छ,” उहाँले भन्नुभयो, “मूलतः कर्णाली प्रदेशले रासायनिक प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक उत्पादनमा जोड दिने अभियान अगाडि बढाएको छ ।” अँझै पनि खाद्य स्वच्छता तथा गुणस्तरका बारेमा सरोकारवालाहरुको समन्वय एवं सहकार्यमा स्वच्छ तथा गुणस्तर खाद्य प्रयोगबारे नागरिक तहसम्म सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने उहाँको भनाई थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले स्वच्छ तथा गुणस्तर खाद्य प्राप्तिका लागि सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन हुनुपर्ने बताउनुभयो । खानाजन्य रोगका कारण मानव जीवनमा जोखिम बढ्दो भएकोले स्वच्छ र गुणस्तरयुक्त खाना आवश्यक भएको उहाँको भनाई थियो ।
उक्त कार्यक्रमका सहभागीहरुले अत्याधुनिक जीवनशैलीका कारण मानव स्वास्थ्य सर्ने भन्दा नसर्ने रोगले ग्रसित हुँदै गएकोले आलीदेखि थालीसम्म आउने चीज स्वच्छ र सुरक्षित हुनुपर्ने सुझाव दिए । उनीहरुले नागरिकको सोच, स्वाद र दृष्टिमा दोष एवं भ्रम भएकोले त्यसलाई चिर्नका लागि खाद्य उपभोगका बारेमा सचेतनामूलक कार्यक्रम आवश्यक भएको सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका जुम्ला, जाजरकोट, सल्यान, रुकुमपश्चिम, दैलेख, कालीकोट र सुर्खेत तथा विभिन्न स्थानीय तहका बजार हेर्ने बजार महाशाखाका प्रमुखहरुको सहभागिता रहेको कार्यालयका खाद्य अनुसन्धान अधिकृत कपिल सुवेदीले जानकारी दिनुभयो ।






