OnlinePana

आज : २०८२ चैत्र ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ७, २०८२
१२ पटक

७ चैत २०८२, शनिबार

सुर्खेतः ट्राफिक कारवाहीमा परेका सवारी साधनबाट फागुन महिनामा कर्णालीमा रु.१३ लाख राजस्व संकलन भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले फागुन महिनामा प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रमा गरिएको चेकजाँचका क्रममा एक हजार ४३१ सवारी कारवाही परेका थिए । जसबाट रु.१३ लाख आठ हजार राजस्व संकलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिनुभयो ।

रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोरलगायत भित्री सडक खण्डअन्तरगत रहेका सडक खण्डहरुमा यस कार्यालय तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुमा कार्यरत रहेका कार्यालय प्रमुखहरुबाट राजमार्ग सुरक्षा गस्ती गर्ने क्रममा ती सवारी साधन कारवाहीमा परेको उहाँले बताउनुभयो ।

“फागुनमा ९३ सवारी दुर्घटना हुँदा १३१ सवारी संलग्न रहेको र उक्त दुर्घटनामा सात पुरुष र एक महिला गरी आठ मानिसको मृत्यु भएको छ,” सूचना अधिकारी बिसीले भन्नुभयो, “दुर्घटनाकै कारण ९३ पुरुष, ४७ महिला, दश बालक र दश बालिका गरी १६० जना मानिस घाईते भएका थिए । त्यसमा ६४ गम्भीर र ९६ सामान्य घाईते भएका छन् ।” दुर्घटनाको प्रमुख कारण तीव्र गति, मादक तथा लागु पदार्थ सेवन, चालकको असक्षमता, गलत स्थानमा पार्किङलगायत रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम पालनासम्बन्धी विद्यालय, कलेजमा ट्राफिक सचेतना कक्षा सञ्चालन, व्यवसायी, चालक परिचालक, स्थानीय टोल, समुदाय, सर्वसाधरण, पैदल यात्रुलाई पनि ट्राफिक सचेतना गराइएको र त्यसबाट ३२ हजार ५६ जना लाभान्वित भएका छन् । फागुन महिनामा ७८ हजार ८३९ सवारी साधनहरुको चेकजाँच गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्