OnlinePana

आज : २०८२ चैत्र ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ६, २०८२
७ पटक

६ चैत २०८२, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न छ बुँदे संकल्प पत्र पारित गरिएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौ अधिवेशनको आज बसेको छैटौं बैठकबाट उक्त संकल्प पत्र पारित गरिएको हो । कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारेको छ बुँदे सकंल्प पत्र नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सभामा प्रस्तुत गर्नुभयो ।

उक्त संकल्प पत्रमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य टेकराज पछाई, उर्मिला विश्वकर्मा ढिलो भएपनि राम्रो कामको सुरुआत भएको र त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संकल्प प्रस्तावमा उठेका विषयमा जवाफ दिनुभयो । मन्त्री अधिकारीले जवाफ दिएसँगै उक्त संकल्प पत्र सर्वसहमतिले पारित भएको थियो ।

त्यस्तै, बैठकको आकस्मिक समयमा भाग लिँदै प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेश सरकारले दशवटै जिल्लाको अभिभावकीय भूमिका खेल्न नसकेको बताउनुभयो । प्रदेश सरकारका काम कारवाहीले नै प्रदेश खारेजको प्रश्न उठेको उहाँले टिप्पणी गर्नुभयो । विशेष सरकार आफै ल्याएको नीति तथा कार्यक्रम अनुसार बजेट कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयका विषयमा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिनुभएको थियो । उहाँले सेवा लिने र दिनेबीचको सम्बन्धलाई सहज र मित्रवत बनाउन मन्त्रालयले अधिकतम प्रयास गरेको बताउनुभयो ।

त्यसैगरी, मन्त्री भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस भनि सभामा राखेको प्रस्ताव पनि सर्वसहमतिले पारित भएको थियो । उक्त विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य रनसिंह परियार, टेकराज पछाई, जीतबहादुर मल्लले भाग लिनुभयो । जसमा मन्त्री भण्डारीले जवाफ दिनुभयो ।

प्रतिकृया दिनुहोस्