

४ चैत, २०८२, बुधबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक सेवालाई प्रविधिमैत्री बनाएर लैजानुपर्ने बताउनुभएको छ ।
हुलाक निर्देशन सुर्खेतद्धारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘हुलाक सेवाको व्यवसाय प्रवद्र्धनसम्बन्धी कार्यक्रम’मा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्नेतले एक सय ४७ वर्ष पुरानो हुलाकले आफ्नो स्थापना कालदेखि महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । नागरिकको सबैभन्दा नजिक रहेर काम गर्दै आएको हुलाक अब परिवर्तिक समयसँगै आफ्नो उपदेयतालाई सान्दर्भिक ढंगले अगाडि बढाउनुपर्ने उहाँले जनाउनुभयो ।
सचिव बस्नेतले पछिल्लो समयमा हुलाकले वस्तुको सेवा दिने मात्र नभई अन्य कामसमेत गर्न सक्ने दायरालाई फराकिलो बनाउँदै लगेको जनाउनुभयो । हुलाक सेवालाई प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाई थियो ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले यहाँका सबै सरकारी निकायले नीजि नभई हुलाकमार्फत समग्र काम गर्न निर्देशन दिनुभयो । हुलाकलाई प्रशासनिक मात्र नभई सञ्चार क्षेत्रको जनशक्ति आवश्यक रहेको बताउँदै उहाँले सार्वजनिक खर्च व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराईले नेपाल मात्र नभएर विश्वका १९२ देशसम्मको सेवालाई प्रवाह गर्न सक्ने हुलाकलाई मनमा राखेर सेवा लिन आग्रह गर्नुभयो । महानिर्देशक भट्टराईलगायतका विज्ञानपन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले हुलाकसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।






