
२ चैत २०८२, सोमबार
गुर्भाकोट नगरपालिका ११ सुर्खेत पिप्ले गाउँ निवासी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार कठायत ११ वर्षीय छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आईतबार बिहान ७ः०० बजेदेखि सम्पर्कविहीन भएकी हुन् । श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायतले हिजो बेलुका ६ः०० बजे छोराछोरीसहित श्रीमती माया सम्पर्कविहीन रहेको जानकारी प्रहरी चौकी गुमी सुर्खेतलाई दिनुभएको थियो ।
उक्त जानकारीपश्चात् उक्त चौकीका बरिष्ठ हवल्दार गोपाल गुरुङ नेतृत्वको चार जना प्रहरी टोली र वडाध्यक्षसहितको स्थानीयले खोजतलास सुर गरेका थिए । खोजतलासको क्रममा घरदेखि तीन किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको तर उनीहरु फेला नपरेको सूचना अधिकारी बुढ्थापाले बताउनुभयो ।
उहाँका अनुसार आज उनीहरुको खोजतलासका लागि भेरी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहतका ईलाका प्रहरी चौकीहरुबाट ३५ जना प्रहरी जनशक्ति र स्थानीय परिचालन भएका छन् । अहिलेसम्म कतै नभेटिएको र भेटाउने व्यक्तिहरुलाई नजिकको प्रहरी चौकीमा जानकारी दिन सुर्खेत प्रहरीले अनुरोध गरेको छ ।






