OnlinePana

आज : २०८२ चैत्र २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २९, २०८२
२८५ पटक

२९ फागुन २०८२, शुक्रबार

सुर्खेतःतिला गाउँपालिका ३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ ।

यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुको जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था निकै जटिल बनेपछि बिहीबार थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत दिउसो करिब १ः०० बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको थियो । उपचारको क्रममा बिहीबार राति अस्मिताको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा.ललिजंग शाहीले जानकारी दिनुभयो ।

डा.शाहीले भन्नुभयो, नेपालीको गर्भावास्थामा प्रेसर बढेर अस्पताल पुर्याइएको भन्ने बुझियो । बिरामीको मिर्गौला र कलेजको समस्या रहेछ । प्रसुती तथा स्त्रीरोग विशेषज्ञले गर्नुपर्ने त्यहाँ केही थिएन । शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लिने भनिएपनि सिधै त्यहाँ नमिल्ने भएपछि डायलोसिस हुन सक्छ कि भनेर यहाँ ल्याइएको रहेछ तर सेन्ट्रल लाईन नै खोल्न नमिलेपछि उनलाई आइसियुमा राखियो र राति १ः०० उनको मृत्यु भयो ।

अस्मिताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्रतिष्ठानको सघन कक्षमा राखेर उपचार गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक कमल थानीले बिरामीको अवस्था जटिल बन्दै गएपछि उनको स्वास्थ्यमा थप सुधार ल्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकोप्टरमार्फत सुर्खेत पुर्याइएको र उपचारको क्रममा राति मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्मिताको कलेजो र मृगौलामा समस्या देखिएको थियो । चार दिन अघि जुम्ला प्रतिष्ठानमा शिशुको जन्मदिएकी अस्मिता उपचारका लागि तल झारेको १२ घण्टाको अवधिमा उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा अस्ताएकी हुन् । उनले जन्म दिएको नवजात शिशुको अवस्था भने सामान्य रहेको जुम्ला प्रतिष्ठानले जनाएको छ ।

मृतकका श्रीमान् राज नेपालीले जति प्रयास गर्दा पनि अस्मितालाई बचाउन नसकिएको दुखेसो व्यक्त गर्नुभयो । छोरीको अवस्था सामान्य भएपनि आमाको अभावमा उनको जीवन कसरी बचाउने होला भन्ने चिन्ताले पिरोल्न सुरु गरेको उहाँले पीडा पोख्नुभयो । राजका अनुसार आर्थिक अवस्था कमजोर भएकोले ऋण गरेर सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै शुक्रबार शव जुम्लामा पुर्याइएको थियो । आजै दाहसंस्कार गर्न थालिएको परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्