OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुर्खेत, जेठ २१, २०७७ (रासस) ः
३२८ पटक

सुर्खेत, २१ जेठ (रासस) ः कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारबाट स्वीकृत ‘कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (पहिलो संशोधन) नियमावली २०७७’ स्वीकृत गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो नियमावली संशोधन गरेको हो । बैठकले ‘कोभिड–१९’ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्य गर्न र सम्बन्धित मन्त्रालयबाट औचित्यपूर्ण रुपमा प्राप्त भएका कार्यक्रम संशोधन गर्न कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ७ को उपदफा (१०) को प्रतिबन्धात्मक वाक्यांश अनुसार प्रदेश सरकारलाइ रहेको कार्यक्रम संशोधन सम्बन्धी अधिकार आर्थिक मामिला तथा योजना मन्त्रालयलाइ प्रत्यायोजन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो ।
बैठकमा खाद्य सुरक्षाका लागि उत्पादन विशेष कार्यक्रम तथा कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत गरिएको प्रवक्ता केसीले बताउनुभयो । कर्णाली प्रदेशमा ‘कोभिड–१९’ संक्रमणको रोकथामका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट रकम निकासा लिई संक्रमण फैलिएका दैलेख, सल्यान, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम, कालिकोट र जुम्ला जिल्लाका केही स्थानीय तहमा रहेका अस्पताल, स्वास्थ्य केन्द्र र अन्य उपयुक्त स्थानमा आइसोलेसन वेड तयारी गर्ने र प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको लागि आवश्यक आरएनए एक्स्ट्रासन किट खरिद गर्नेसमेत निर्णय भएको उहाँले जनाउनुभयो ।
सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारबाट स्वीकृत ‘कोभिड–१९’ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउने पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश २०७७ कार्यान्वयन गर्ने सम्बन्धमा भारत तथा अन्य मुलुकबाट नेपाल प्रवेश गरी जिल्ला सदरमुकाममा ल्याइएका नागरिकलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पुर्याउने निर्णय गरेको छ ।
क्वारिन्टन अवधिभर आवश्यक व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न तथा उक्त कार्यादेश कार्यान्वयन सम्बन्धमा प्रदेश सरकारले गर्नुपर्ने अन्य आवश्यक कार्यहरुको समन्वय व्यवस्था मिलाउने जिम्मा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाइ तोक्ने निर्णय भएको प्रवक्ता केसीको भनाई छ । भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकहरुलाइ सुर्खेतमा नै क्वारेन्टिनमा व्यवस्थापन भएको अवस्था भएकोले उनीहरुलाई ती जिल्लाहरुमा प्रवेश नदिने गरी यार्सागुम्बा संकलनको कार्य जेठ २५ गतेदेखि खुला गर्ने व्यवस्था हुन् नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
४० हजार क्वीन्टल खाद्यान्न भण्डारण गरिँदै
‘कोभिड–१९’ को प्रभावका कारण उत्पन्न हुन् सक्ने सम्भावित खाद्य संकटलाइ दृष्टिगत गरी प्रदेश खाद्यान्न भण्डारण तथा आपूर्तिको व्यवस्था मिलाउने सम्बन्धमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई जिम्मा दिने निर्णय बैठकले गरेको छ ।
प्रवक्ता केसीका अनुसार विभागीय मन्त्रालयले तत्काल २५ हजार क्वीन्टल चामल, बाह्र हजार क्वीन्टल गहुँ र तीन हजार क्वीन्टल दाल गरी जम्मा ४० हजार क्विन्टल खाद्यान्न खरिद गरी भण्डारण तथा आपूर्तिको व्यवस्था मिलाउने र यसको लागि बजेटको व्यवस्था आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने निर्णय भएको छ । सरकारले हुम्लाको याल्वाङ र डोल्पाको तिन्जे वितरण केन्द्रको खाद्य व्यवस्थाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देश हुनका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
यस अघि दुवै वितरण केन्द्रका लागि व्यापार कम्पनी लिमिटेडले चीनको स्वशासित क्षेत्र तिब्बतको मार्ग हुदै खाद्यान्न आपूर्ति गर्दै आएको थियो । हाल ‘कोभिड–१९’ का कारण सो मार्गबाट खाद्यान्न आपूर्ति गर्न नसकिने अवस्था भएकोले नेपाल सरकारलाई अनुरोध गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्