OnlinePana

आज : २०८२ फागुन ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ८, २०८२
८ पटक

८ फागुन २०८२, शुक्रबार

सुर्खेतः निर्वाचन आयोग नेपालका सचिव कृष्णबहादुर राउत कर्णालीमा हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउने बताउनुभएको छ ।

प्रदेश निर्वाचन सुरक्षा समितिको आज जिल्ला प्रशासन कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा बोल्दै सचिव राउतले विशिष्ट अवस्थामा हुन लागेको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने यहाँका कर्मचारीहरुको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइ सकिएको छ । आवश्यकतामा आयोगले थप काम गर्दै जानेछ ।”

फागुन १० गतेदेखि मसान्तसम्मको मौसम अनुमान गरेर पठाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरिएको बताउँदै उहाँले यहाँका उच्च हिमाली जिल्लाको निर्वाचनका लागि हुम्ला, मुगु र डोल्पामा फागुन ९, १० र ११ गतेभित्र मतपत्र पठाउने तयारी भइरहेको बताउनुभयो । तीन हजार मिटर भन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्य नजर गरेर हाईअल्टिच्यूड सिकनेसको औषधि पनि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको सचिव राउतको भनाई थियो ।

कर्णालीका हिमाली जिल्लाहरुमा निर्वाचन पूर्व र निर्वाचन पश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीलाई ल्याउने व्यवस्थाको सुनिश्चित गर्न आयोगलाई बैठकमा सुरक्षा प्रमुखहरुले अनुरोध गरेका थिए । अर्कोतर्फ निर्वाचन कर्मचारीहरुलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर आयोगले दिनुपर्नेमा जोड दिईएको थियो ।

बैठकमा प्रदेश कमाण्ड पोष्टका संयोजक कर्णाली प्रदेश सरकारका निमित्त सचिव लक्ष्मीकुमार विक, जिल्ला कमाण्ड पोष्टका अध्यक्ष सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले निर्वाचन तयारीको अवस्था, सुरक्षाका चुनौति र समस्याका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो ।

त्यसैगरी, सुर्खेत जिल्ला क्षेत्र नं.२ का मुख्य निर्वाचन अधिकृत दीपक ढकाल, उत्तरपश्चिम पृतना सुर्खेतका बाहिनीपति सहायक रथी सञ्जय रञ्जितलगायत सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको बताउनुभयो । बैठकमा निर्वाचन आउने सबैखाले समस्या आयोगले पुरा गर्ने सचिव राउतले जनाउनुभयो ।

आसन्न फागुन २१ गते सम्पन्न हुने चुनावमा कर्णालीमा १२ निर्वाचन क्षेत्र, दश लाख २४ हजार छ सय छ मतदाता, नौ सय ५९ मतदानस्थल र एक हजार चार सय ३८ मतदान केन्द्र रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्