

२४ माघ २०८२, शनिबार
सुर्खेतः सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल ¥याली निकाल्ने ‘खतरनाक खप्पर’ समूहका २५ जनालाई पक्राउ गरेको छ ।
स्थानीय प्रशासनको अनुमति बिना मोटरसाइकल ¥याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पु¥याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई आज प्रहरीले पक्राउ गरेको हो ।
आज दिउँसो २ः०० बजे वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गरेरको अवस्थामा वी.न.पा ३ तातापानीको उक्त समूहमा रहेका युवाहरुले कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा ¥याली निकाल्दै हो–हल्ला गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको प्रहरी टोलीले आठ मोटरसाइकल र चार स्कुटरसहित २५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।” प्रारम्भिक अनुसन्धान अनुसार उक्त समुहले सार्वजनिक शान्तिमा खलल पु¥याउने गतिविधिका साथै आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्य गरेको पाइएको प्रहरीले जनाएको छ ।






