

२१ माघ २०८२, बुधबार
सुर्खेतः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मुलुक आजको विकासको अवस्थामा आईपुग्नु संघीयताको उपज भएको बताउनुभएको छ ।
कर्णाली प्रदेशसभा सचिवालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित प्रदेशसभाको आठौं स्थापना दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख जोशीले प्रदेश खारेजीको असन्तुष्टि राख्नु कुनै औचित्य नभएको र त्यो संभव पनि नरहेको बताउनुभयो । “संघीयताको विकल्प छैन,” उहाँले भन्नुभयो, “बरु यसलाई बलियो बनाउन आवधिक सरकार भन्दा स्थानीय सरकार दृढ संकल्प भएर लाग्नुपर्दछ ।”
कर्णालीलाई गरिबीको ट्याग लगाउनुभन्दा मुलुकको सम्पन्न प्रदेश हो भन्ने मानक स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश प्रमुख जोशीले भन्नुभयो, “खस भाषा, सभ्यता, कला, संस्कृति जननी कर्णाली, सबैभन्दा ठूलो ताल रारा, गहिरो ताल फोक्सुण्डो, सबैभन्दा लामो नदी कर्णाली, महंगो जडिबुटी यार्सा (जीवनबुटी), स्याउ, ओखर, सुन्तला, अदुवा, पेट्रोलियम ग्याँसको खजना कर्णालीमा छ अनि कर्णाली गरिब कसरी ?”
उहाँका अनुसार आसन्न फागुन २१ गतेको सम्पन्न निर्वाचनपछि संविधान संशोधन गरेर कर्णालीको मूलद्वार बाँके र बर्दियालाई कर्णालीमा जोड्नुपर्दछ । मुख्यमन्त्री यामलाल कँडेलले संविधान रहेसम्म प्रदेशको अधिकार कसैले खोस्न नसक्ने दावी गर्नुभयो । गत भदौ २३ गतेको घटनाबाट संविधानले चिन्न नसक्ने सरकार गठन भएको धारणा राख्दै उहाँले जेनजी आन्दोलनको प्रारम्भ सुन्दर भएपनि त्यसको परिणाम कुरुप देखिएको बताउनुभयो ।
उहाँले निर्वाचन स्वच्छ हुनेमा संशय रहेको तर्क गर्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले संघीयता कसैले उपहार दिएको नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएको बताउनुभयो । उहाँले जेनजीले सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश हुनुपर्छ भनेर उठाएका माग नितान्त राम्रो भएको यद्यपि पछिल्लो दिनको वितण्डाले आज पनि असामान्य अवस्थाबाट मुलुक चलिरहेको बताउनुभयो ।
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दल नेता जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनकै कारण आठ वर्ष अघिको मलिन सुर्खेत वीरेन्द्रनगर आज चिल्लो बनेको बताउनुभयो । उहाँले संघीय व्यवस्था बेठिक मान्नेहरु कर्णाली भएर बाँच्ने अवस्था सामना गर्न सकेमात्र ठिक मान्न सक्ने बताउनुभयो ।
कणाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधान दिएको अधिकार अनुसार प्रदेशलाई बलियो बनाउन सके संघीयता बलियो हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “आज हामी महिलासहित दलित, जनजाति, अल्पसंख्यक, सीमान्तकृत सबै वर्ग क्षेत्रका मान्छेहरु नीति निर्माण तहमा पुगेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुन्दर पक्ष भनेको यही हो ।”
उपसभामुख यशोदा न्यौपानेले तीनै तहको समन्वय, सहकार्य र सहअस्तित्वबाट मुलुक अपेक्षित गन्तव्यमा पुग्ने बताउनुभयो । तीनै तहका सरकारहरुले एकल तथा साझा सूचीका अधिकारहरुलाई संविधानको मर्म बमोजिम कार्यान्वयन लैजाने तहबाट अगाडि बढेमा मुलुक चाहेको विकास र समृद्धि हुने बताउनुभयो ।
स्थापना दिवसमा कर्णाली प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष तथा सदस्य प्रमुख सचिव तथा विषयगत मन्त्रालयका सचिव, राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, गैर सरकारी संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, सामाजिक अभियान्तालगायत पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।












