OnlinePana

आज : २०८२ फागुन ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १७, २०८२
८४ पटक

१५ माघ २०८२, शुक्रबार

सुर्खेतः नेपाली काँग्रेसका नेता तथा सुर्खेत क्षेत्र नं. १ का उम्मेदवार विष्णुबहादुर खड्काले काँग्रेसभित्र कुनै मतभेद नभएको बताउनुभएको छ ।

आज सुर्खेत वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खड्काले विशेष महाधिवेशन सम्पन्नपश्चात् काँग्रेस एकतावद्ध भएर चुनावी मैदानमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुर्खेत प्रतिनिधिसभा क्षेत्र नं. १ मा म र २ मा नारायणकुमार कोइराला हुनुहुन्छ । जेनजीले उठाएका मुद्दा र मर्म बमोजिम काँग्रेसले युवा नेतालाई उठाएको छ । जनाधार राम्रो भएकोले जीत निश्चित छ ।”

काँग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भाई भएकोले टिकट पाएको भन्ने कुरा निराधार भएको प्रष्ट्याउँदै काँग्रेस सुर्खेत उपसभापतिसमेत रहनुभएका नेता खड्काले विसं.२०३७ सालको जनमत संग्रह, २०४६ साल तथा २०६२÷०६३ को जनआन्दोलन र परिवर्तनका निम्ति दिएको योगदानको कदर यतिबेला पार्टीले गरेको बताउनुभयो ।

विसं.२०४६ सालमा पञ्चहरुको विरुद्ध विद्रोह गर्दा आफैले गिरफ्तारी दिएको बताउँदै करिब एक महिना प्रहरी हिरासतमा कठोर यातना भोगेर बहुदल आएपछि बाहिर निस्केको उहाँले जनाउनुभयो । राजनीति र समाजसेवा दुवै पाटोलाई सँगसँगै लिएर अगाडि बढ्दा २९ वर्षपछि नीति तथा कानून निर्माण गर्ने ठाउँमा प्रवेशका लागि पार्टीले टिकट दिएको उहाँको भनाई थियो ।

मध्यपश्चिम विश्वविद्यालय, मध्यपश्चिम यातायात प्रालि.स्थापनादेखि यहाँको स्वास्थ्य, सडक, खानेपानी, सञ्चारका क्षेत्रमा काम गर्दै आएको र आसन्न फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको सफलता पछि यहाँको कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र रोजगारमा आधारित दीर्घकालीन विकास योजनामा केन्द्रित हुने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्