OnlinePana

आज : २०८२ माघ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १०, २०८२
९ पटक

९ माघ २०८२, शुक्रबार

सुर्खेतः खाद्य स्वच्छता कायम गर्न प्रभावकारी बजार अनुगमन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा’मा सरोकारवालाहरुले सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको बजार अनुगमन संयन्त्रको नियमित अनुगमनबाट अखाद्य वस्तुको बिक्रीवितरणमा रोकावट हुने र यसले नागरिकको स्वास्थ्यमा सहयोग पुग्ने बताएका हुन् ।

उपभोक्ता हित संरक्षण मञ्च कर्णाली प्रदेश संयोजक बिन्दुलाल रेग्मीले पछिल्लो समयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले वस्तुको गुणस्तर र खाद्य स्वच्छताका गतिविधिहरुले केही फरक ल्याएपनि उपभोक्ता शिक्षा अँझै बढाउनुपर्ने सुझाव दिनुभयो । उपभोक्ता शिक्षाले नागरिक सचेत भएर सेवा प्रदायकहरुलाई जिम्मेवार बन्न बाध्य बनाउने उहाँको भनाई थियो ।

होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष प्रतिमा ओलीले खाद्य स्वच्छताका लागि सरसफाई आवश्यक रहेको धारणा राख्दै फोहोर व्यवस्थापनमा नगरपालिका पूर्ण जिम्मेवार नभएको टिप्पणी गर्नुभयो । फोहोरको उचित व्यवस्थापन हुन नसक्नु र वस्तुको गुणस्तर उपभोगमा नागरिक वेवास्ताग्रही भएका कारणले पनि सेवा र वस्तु उपभोगमा तारतम्यता नमिलेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले स्थानीय पालिकासम्मका बजार अनुगमन गरी म्याद गुज्रेका वस्तु नष्ट गरेर व्यापारी तथा व्यवसायीहरुलाई सचेत गराएको बताउनुभयो । उहाँका अनुसार नागरिकको स्वास्थ्य सुरक्षा, गुणस्तर सेवा र कानून बमोजिम नियमन तथा नियन्त्रण गर्न जिल्ला प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सेवामा गुणस्तर दिन नियमित बजार अनुगमन तथा उपभोक्ता शिक्षा कार्यक्रम भइरहेको बताउनुभयो । उहाँका अनुसार कार्यालयले खाद्य प्रविधिसम्बन्धी परीक्षण, अनुसन्धान, अध्ययन, नवीन खाद्य उत्पादन, प्रविधिको विकास, प्रचारप्रसार र परामर्श सेवाका कामलाई अगाडि बढाइएको छ ।

त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्राविधिक सहायक सुवास तिमिल्सिनाले २०४३ सालमा स्थापना भएको जुम्लाको कार्यालयमा खाद्य वस्तुको गुणस्तर जाँच गर्ने उपकरण अभावका कारण व्यवसायी तथा उद्यमीहरुले सुर्खेत आउनुपर्ने बाध्यता रहेको बताउनुभयो । सो समस्या समाधान हुँदा सेवा प्रदायक र सेवाग्रही दुवैलाई सहज हुने उहाँको भनाई थियो ।

समीक्षा कार्यक्रममा होटल व्यवसायी, व्यापारी, मौरी पालक किसान, गैरसरकारी संघ संस्थालगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । प्रगति समीक्षासँग होटल व्यवसायी संघका अध्यक्ष प्रतिमा ओलीको संयोजकत्वमा सरोकारवाला निकाय सदस्य रहने गरी नौ सदस्यीय होटल स्तरीकरण समिति गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्