

५ माघ २०८२, मंगलबार
सुर्खेतः वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत मंगलगढी चोक नजिक रहेको मानिकेज उर्जा पसलमा भएको आगलागीले निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ ।
्
आज अपरान्ह ४ः१५ बजेको समयमा आगलागीले जलिरहेको घरबाट ७० वर्षीय तुलसी भुसाललाई उद्धार गरिएको हो । उपसेनानी मनोज कुँवर र प्रहरी निरीक्षक राजन भट्टराइको टोलीले भवनको भित्ता फोडेर चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्दार गरेको राजदल गण एयरपोर्ट सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको र अहिले अवस्थामा सामान्य रहेको छ । प्रमुख सेनानी सिंहले बिजुलीको काम गर्ने क्रममा सर्ट भएर आगो लागेको र पसलभित्र रबर, टायर र छिटो आगो सल्किने वस्तु रहेकाले नियन्त्रण कठिनाई भएको बताउनुभयो । उहाँले पाँच घण्टापछि आगो नियन्त्रणमा लगिएको बताउनुभयो ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा ७१, राजदल गण एयरपोर्टबाट प्रमुख सेनानी भद्रबहादुर सिंहको नेतृत्वमा ५० सशस्त्र प्रहरी बल नेपाल नं.३२ गण हेडक्वाटर रक्तकाली गण सुर्खेतबाट सहायक प्रहरी निरीक्षक रामबहादुर खत्रीको नेतृत्वमा २१ जनाको टोली, आयल निगाम सुर्खेतको दमकल र डिभिजन बन कार्यालय सुर्खेतको ट्याङकरसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने तथा आगलागीको थप कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिनुभयो ।








