

३ माघ २०८२, शनिबार
सुर्खेतः माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ आज सम्पन्न भएको छ । कर्णालीका मौरपालक तथा स्थानीय रैथानेबाली उत्पादक किसानहरुले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना उत्पादनहरुलाई प्रदर्शनीमार्फत बिक्रीवितरण पनि गरेका छन् ।
चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ को अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्था लिबर्डसहितका दर्जन बढी संस्थाहरुको समन्वयमा नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘दोस्रो प्रादेशिक मह महोत्सव’ले व्यवसायी एवं किसानहरुलाई आ आफ्नो उद्यम, व्यवसाय तथा कर्ममा लाग्न उत्साहित गरेको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुरर रोकाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महोत्सवले व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्याउनुको साथै यसले कारोबार पनि त्यत्तिकै बढाएको छ ।” प्रजातीय, पर्यावरणीय र जैविक विविधता प्रवद्र्धन गर्नमा महोत्वसको महत्वपूर्ण भूमिका रहेको भन्दै निर्देशक रोकायले कर्णाली जैविक विवधतायुक्त प्रदेश भएकोले यसको संरक्षण तथा सम्वद्र्धनमा सबैको उत्तिकै योगदान हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश अध्यक्ष लिलारम ढकाले महोत्सवमा चार क्विन्टल ७६ केजी मह बिक्री भएको बताउनुभयो । यतिबेला रु. दश लाखको बिक्री वितरण भएको बताउँदै मौरीपालक किसानहरुलाई प्रोत्साहित, व्यवसाय प्रवद्र्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’बाट राम्रो सन्देश प्रवाह भएको जनाउनुभयो ।
महोत्सवको पहिलो दिन कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जैविक विविधता संरक्षणबाट मात्र मानव अस्तित्व रक्षा पछिल्लो समयमा मानव गतिविधिका कारण जैविक विविधता नास हुँदै गइरहेको बताउनुभएको थियो ।
कर्णाली प्रदेश सरकारका कृषि विकास रणनीति बनाएर पर्यावरणीय कृषि प्रणालीमा जोड दिएको बताउनुभएका उहाँले महोत्सव सञ्चालने जैविक विविधता संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार जैविक विविधता कायममा मौरीको महत्वपूर्ण भूमिका भएकोले प्रकृति जोगाउन मौरी संरक्षण पनि त्यतिकै अपरिहार्य रहेको छ ।
महोत्सवमा सरकार ज्ञान, प्रविधि र बजार दिन तयार रहेको भन्दै उहाँले हाम्रो उत्पादनलाई विश्वबजारमा पुर्याएर अर्थोपार्जनका लागि आफ्नो लगानी गर्न मौरीपालक व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । मानवीय असंवेदनशील गतिविधिका कारण जैविक विविधतामाथि भएको प्रहार रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महोत्सवमा मह, रैथाने अन्नबाली, त्यसका उत्कृष्ट परिकारहरुलाई स्टलमार्फत उत्कृष्टता हाँसिल गर्ने किसान, व्यवसायी तथा संस्थालाई पुरस्कृत एवं सम्मान गरिएको थियो । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)लाई स्थानीय कृषि जैविक विविधता, परम्परागत ज्ञान र नवप्रवर्तनलाई सिर्जनात्मक एवं प्रभावकारी ढंगले स्टलमार्फत प्रस्तुतगरी उल्लेखनीय योगदान पुर्याएको भन्दै उत्कृष्ट स्टलको उपाधिबाट सम्मान गरिएको थियो ।
उक्त महोत्सवमा स्थानीय कलाकार तथा राउटे समुदायका नागरिकहरुले पनि एकल गीत, दोहोरीसहित साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब पाँच हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।













