
३ माघ २०८२, शनिबार
सुर्खेतः कर्णाली खेलकुद विकास परिषद्को सदस्य सचिव तीन जनाको नाम सिफारिस गरेको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकाल संयोजकत्वको छनौट समितिले आज अन्तरवार्तामा सहभागी दश जनाको सूची मध्यबाट पहिलो नम्बरमा वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत निवासी रविन्द्र चन्दको नाम सिफारिस गरेको हो । उहाँका अनुसार अन्तरवार्तामा चन्दले ६७ दशमलव १७ अंक प्राप्त गर्नुभएको थियो ।
दोस्रोमा भेरीगंगा नगरपालिका ४ सुर्खेतका दीपक हमालले ६० दशमलव ६३ अंक र तेस्रोमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतकै प्रमोद हमालले ५२ दशमवल ३७ अंक प्राप्त गरे अनुसार योग्यताक्रम कायम भएको सूची सार्वजनिक गरिएको संयोजक ढकालले बताउनुभयो ।
उहाँका अनुसार कर्णाली खेलकुद विकास परिषद् सदस्य सचिव छनौट सम्बन्धी मापदण्ड–२०८२ को दफा ७ बमोजिमको मूल्याङ्कनबाट प्राप्त गरेको अंक र दफा ८ बमोजिम अन्तरवार्तामा हाँसिल गरेको अंक समेतका आधारमा उनीहरुको योग्यताक्रम कायम हुन आएकोले दफा ९ बमोजिम सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशमा सिफारिस गरिएको छ ।
मन्त्रालयले विसं.२०८२ मंसिर ९ गते परिषद् सदस्य सचिव सिफारिसका लागि दरखास्त आह्वानको सूचना गरेको थियो । उक्त सूचना बमोजिम सदस्य सचिव पदका लागि २१ जनाको निवेदन परेको थियो । शैक्षिक योग्यता र अनुभवसम्बन्धी कागजात मूल्याङ्कन अनुसार यही पुस ३० गते दश जनाको नामसहितको सूची सार्वजनिक गरिएको थियो ।












