OnlinePana

आज : २०८२ माघ २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २९, २०८२
१३० पटक

२९ पुस २०८२, मंगलबार

सुर्खेतःकर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुने भएको छ ।  नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशले यही माघ १–३ गतेसम्म महोत्सव आयोजनाको तयारी गरेको हो ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ को अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको समन्वयमा महोत्सव आयोजनाको तयारी गरिएको महासंघका अध्यक्ष लिलाराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा ३० मह र २० जैविक विविधतासँग सम्बन्धित अन्नबाली, वास्तु सामग्री र खाद्य परिकारका स्टलहरु राखिनेछ ।

मूलतः जैविक विविधताको संरक्षण गर्दै कर्णालीका मौरीपालक किसानहरुलाई प्रोत्साहित, व्यवसाय प्रवद्र्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले दोस्रो मह महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आव.२०८१÷०८२ मा सम्पन्न भएको तीन दिने प्रथम प्रादेशिक मह महोत्सवमा छ क्विन्टल ४८ केजी मह बिक्री वितरण भयो । यसबाट मह किसानले करिब रु.दश लाख आम्दानी गरेका थिए ।”

अन्य प्रदेश भन्दा कर्णालीको महको छुट्टै पहिचान भएको बताउँदै उहाँले कर्णालीमा एक सय ७१ जना मौरीपालक किसानहरु रहेको जनाउनुभयो । प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश निर्माण गर्ने अभियानबाट विषादी प्रयोगमा न्यूनीकरण भएको र यसबाट मौरी पालनमा सहयोग पुगेकोले पछिल्लो समयमा यो व्यवसायमा आकर्षण बढेको उहाँको भनाई थियो ।

कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले कर्णाली मौरी र प्रजातिका हिसाबले बढी पाईने प्रदेशका साथै उत्पादित मह औषधीय गुणयुक्त छ भन्ने सन्देश महोत्सवले दिने बताउनुभयो । “यहाँ घर मह मात्र होइन, भीर मह पनि पाइन्छ, उहाँले भन्नुभयो, “यसले कृषि तथा पर्या–पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ । निर्देशक रोकायका अनुसार महाेत्सवले जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली कायम राख्न र मौरीको भूमिका रैथाने अन्नबालीको उपयोगलाई व्यापक गर्न महोत्सवले विशेष महत्व राख्नेछ ।

 

प्रतिकृया दिनुहोस्