

२९ पुस २०८२, मंगलबार
सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’को हुने भएको छ । नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशले यही माघ १–३ गतेसम्म महोत्सवको आयोजनानाको तयारी गरेको हो ।
चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ को अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको समन्वयमा महोत्सव आयोजनाको तयारी गरिएको महासंघका अध्यक्ष लिलाराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा ३० मह र २० जैविक विविधतासँग सम्बन्धित अन्नबाली, वास्तु सामग्री र खाद्य परिकारका स्टलहरु राखिनेछ ।
मूलतः जैविक विविधताको संरक्षण गर्दै कर्णालीका मौरी पालक किसानहरुलाई प्रोत्साहित, व्यवसाय प्रवद्र्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले दोस्रो मह महोत्सव आयोजनाको तयारीमा लागिएको अध्यक्ष ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आव.२०८१÷०८२ मा भएको सम्पन्न भएको तीन दिने प्रथम प्रादेशिक मह महोत्सवमा छ क्विन्टल ४८ केजी बिक्री वितरण भयो । यसबाट मह किसानले करिब रु.दश लाख आम्दानी गरेका थिए ।”
अन्य प्रदेश भन्दा कर्णालीको महको छुट्टै पहिचान भएको बताउँदै उहाँले कर्णालीमा एक सय ७१ जना मौरी पालक किसानहरु रहेको जनाउनुभयो । प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश निर्माण गर्ने अभियानबाट विषादी प्रयोगमा न्यूनीकरण भएको र यसबाट मौरी पालनमा सहयोग पुगेकोले मौरी पालन व्यवसायमा आकर्षण बढेको उहाँको भनाई थियो ।
कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले कर्णाली मौरी र प्रजातिका हिसाबले बढी पाईने प्रदेशका साथै उत्पादित मह औषधीय गुणयुक्त छ भन्ने सन्देश महोत्सवले दिने बताउनुभयो । “यहाँ घर मह मात्र होइन, भीर मह पनि पाइन्छ, उहाँले भन्नुभयो, “यसले कृषि तथा पर्या–पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ । निर्देशक रोकायका अनुसार जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली कायम राख्न मौरीको भूमिकालाई व्यापक गर्न महोत्सवले विशेष महत्व राख्नेछ ।






