

२५ पुस २०८२, शुक्रबार
सुर्खेतः कर्णाली प्रदेशका दश जिल्ला मध्ये नौ जिल्लाका नेपाली काँग्रेसका सभापतिहरुले औचित्य सकिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका छन् ।
नेपाली काँग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंह, मुगुका सभापति ऐनबहादुर शाही, जुम्लाका सभापति कर्णबहादुर शाही, कालीकोटका सभापति अम्बहादुर शाही, डोल्पाका कार्यवहाक सभापति लवकुमार शाही, जाजरकोटका सभापति वेदराज सिंह, दैलेखका सभपाति मणिराम रेग्मी, रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओली, सुर्खेतका सभापति खड्गबहादुर पोखरेल र सल्यानका उपसभापति सन्तोष ओलीले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक निर्णयविनै कुनै व्यक्ति विशेषबाट आह्वान गरिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका हुन ।
पार्टी विधि र विधानअनुसार चल्दै आएको काँग्रेस व्यक्तिको चाहनाअनुसार पार्टी सञ्चालन हुन नसक्ने, नियमित महाधिवेशन र आमनिर्वाचनलाई असर गर्ने गरी आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी एकतालाई गम्भीर क्षति पु¥याउने र मुलुकलाई समेत अस्थिरतामा धकेल्ने स्पष्ट पार्दै उनीहरुले केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक संघ–संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरुलाई पार्टीको आधिकारिक निर्णयको सम्मान गर्न आग्रह गरेका छन् ।
‘विशेष महाधिवेशन’को पक्षमा देखिएका सल्यान सभापति केशरबहादुर विष्ट बाहेक यहाँका नौ सभापतिहरुले निकाले सयुक्त विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत आह्वान गरिएको ‘विशेष महाधिवेशन’ले पार्टी र मुलुक दुवैलाई दुर्घटनातर्फ लैजाने खतरा छ । तसर्थ पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा सहभागी नहुन सम्पूर्ण पार्टी पङ्क्तिलाई हार्दिक अपिल गर्दछौं । केन्द्रीय कार्यसमितिबाट प्रकाशित कार्यतालिकाअनुसार नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यसको विकल्पका रूपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन स्वतः निष्क्रिय भइसकेको छ ।”








