
२३ पुस २०८२, बुधबार
सुर्खेतः बाघको आक्रमणबाट सुर्खेत भेरीगंगा नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेरीगंगा नगरपालिका ५ सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गंगा सारु रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो । मृतक सारुका श्रीमान् नरबहादुर सारुलाई उद्रित गर्दै प्रही उपरीक्षक शाहीले गंगा मंगलबार बिहान ८ः०० बजे घरबाट कसैलाई जानकारी नदिई बाहिर निस्केकी थिइन् ।
प्रहरीका अनुसार आज बिहान ९ः०० बजेको समयमा सारुको दुई नातिनी घरदेखि एकसय मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा मृतक सारुले लगाएका कपडा चप्पलसहित सोहि स्थानमा रगत देखिएको र करिब छ सय मिटर पूर्वतर्फ महिलाको टाउको भेटिएको भनि १०ः३० बजे अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतमा जानकारी गराइएको थियो । उक्त जानकारीपश्चात् प्रहरी, नेपाली सेनाको टोली, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधि सहितको २०÷२५ जनाको टोली खटिएको थियो ।
खोजतलासका क्रममा महिलाको टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ महिलाको शरीरका अन्य भागहरू फेला परेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । उहाँका अनुसार बाघले महिलाको बायाँ खुट्टा, हात र कम्मरको भागको मासु पूर्णरुपमा खाएको अवस्थामा शरीर फेला परेको थियो । त्यसैगरी, सुर्खेत प्रहरीले आजै लेकबेसी नगरपालिका ९ सुर्खेतका ३८ वर्षीय धनबहादुर रावतलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।








