OnlinePana

आज : २०८२ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २२, २०८२
६० पटक

२२ पुस २०८२, मंगलबार

प्राथमिक उपचारसम्बन्धीको आधारभूत सीप प्रदान गर्न यहाँका राउटे युवाहरुका लागि तालिम सुरु गरिएको छ ।

राउटे समुदायको जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा राउटे समुदायको स्वास्थ्य सुधारका लागि आजबाट लेकबेसी नगरपालिका ७ सुर्खेत पुलटारमा प्राथमिक उपाधारसम्बन्धी तीन दिने तालिम सुरु गरिएको हो । तालिमको उद्घाटन कर्णाली प्रदेश सरकारका सामािजक विकासमन्त्री घनश्याम भण्डारीले गर्नुभयो ।

तालिम उद्घाटन गर्दै मन्त्री भण्डारीले कर्णाली प्रदेशको पहिचानका रुपमा अस्तित्वमा रहेको राउटे समुदायको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै समय पैसा छोए पाप लाग्छ भन्ने विश्वास राख्ने राउटे समुदायका युवाहरुले आधुनिक स्वास्थ्य उपचारप्रति देखाएको चासोले सकारात्मक परिवर्तनको संकेत गरेको छ । यो समुदाय केवल एउटा जाति नभई सभ्यता, भाषा र संस्कृतिको जीवन्त संगम पनि हो ।”

मन्त्री भण्डारीले राउटेहरुको सभ्यतामा ठेस नपुग्ने गरी सामाजिकीकरणको पाटोमा ल्याउन सरकार प्रयासरत रहेको जनाउँदै पछिल्लो दश वर्षको बसाइँसराईको तथ्याङ्कका आधारमा ‘राउटे कोरिडोर’ निर्माण र ‘राउटे नीति’ अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो । उक्त नीति कार्यान्वयनसँगै उनीहरुको रहनसहन र रीतिरिवाज संरक्षणसँगै आधुनिकीकरणतर्फ कार्यक्रम केन्द्रित गरिने उहाँको भनाई थियो ।

यस्तै, दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदायलाई परिचयपत्र वितरणसँगै सामाजिक सुरक्षा भत्ता उपलब्ध गर्दै आएको बताउनुभयो । राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गर्न पालिकाले पहल थालेको र प्रस्ताव जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिं थापाले पछिल्लो समय राउटे युवाहरु आधुनिक चिकित्सा सम्बन्धित उपचारप्रति विश्वास गर्न थालेकाले प्राथमिक उपचार तालिम सञ्चालन गरिएको जनाउनुभयो । परम्परागत घरेलु उपचारका कारण जटिल स्वास्थ्य समस्या देखिन थालेकोले नयाँ पुस्तालाई आधुनिक उपचार पद्धतिबारे जानकारी दिन तालिम आयोजना गरिएको उहाँले बताउनुभयो ।

सहभागी राउटे युवाहरुलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीहरुले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको आयोजक संस्थाले जनाएको छ । तालिममा उनीहरुले आफ्नै समुदायमा चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखिँदा अस्पताल लैजानुअघि प्राथमिक उपचार गर्न सक्ने अपेक्षा गरिएको छ ।

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जंगल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको हाल जनसंख्या एक सय ३३ रहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा छ । पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण राउटे समुदायको जनसंख्या घटेको जनाइएको छ ।

हाल राउटे समुदाय लेकवेशी नगरपालिका–७ सुर्खेतको जंगल क्षेत्रमा बसोवास गर्दै आएका छन्। तालिममा राउटे समुदायका आठ महिला र सात पुरुष गरी १५ जनाको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्