

२१ पुस २०८२, सोमबार
सुर्खेतः नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का कर्णाली प्रदेश संयोजक बीरबहादुर रावत भोेटेले आफूलाई कुट्ने दोषीहरुले नियोजितरुपमा भिडियो बनाएर दोषी बनाउन भ्रम फैलाएको दावी गर्नुभएको छ ।
आज सुर्खेत वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत नेफ्स्कुन सदस्य सेवा कार्यालय सुर्खेतको उपसमितिको लामो समयसम्म बस्ने नसकेको बैठकको तयारीका सन्दर्भमा सम्बन्धित कर्मारीहरुसँग समन्वय गरिरहेको यही पौष १८ गते दिउसो ३ः३० बजेको समयमा आफुमाथि भएको कर्मचारीको आक्रमण निन्दनीय भएको बताउनुभयो ।
पत्रकार भेटघाटको क्रममा उहाँले भन्नुभयो, “समन्वय गर्ने क्रममा फिल्ड कार्यालयका इन्चार्ज मदनकुमार चन्दलाई आगामी बैठकका लागि प्रतिवेदन तयारीकाे लागि अनुरोध गर्दै गर्दा त्यहाँ कार्यरत सहायक कर्मचारी पुष्पराज तिमिल्सिनाले ममाथि अमर्यादित र अपमानजनक भाषा प्रयोग गर्दै हामी तपाई मातहतका होइनौ, विभागीय प्रमुख र प्रमुख कार्यकारी अधिकृतको मात्रै निर्देशन मान्छौं भन्ने अभिव्यक्ति दिए र मेरो कार्यकक्षमा जथाभावी प्रवेश गरी मेरो नेम्प्लेट तोडफोडका साथै टेबल र दराजमा हानी सिसा पनि फुटाए । अनि म माथि धक्का मुक्कासहित हातपात गर्ने काम भयो । प्रतिकारमा म उत्रेको साँचो हो ।”
त्यसपछि योजनावद्ध रुपमा चन्दले मोबाईल भिडियो बनाउँदै मलाई लात प्रहार गरेको दृश्य उनीहरुले बनाएको भिडियोमा देखिएको भोटेले बताउनुभयो । उहाँका अनुसार उनीहरुको आक्रमणका कारण हतास मानसिकतामा बाहिर निस्कने खाेज्दा कार्यालयको च्यानल गेट बन्द गरिएको थियो । कार्यालय परिचालिकाको गुहारपछि बाटोमा हिडिरहेका सर्वसाधरण र प्रहरीको उपस्थितिमा गेट खोलिएको र आफु थप आक्रमण हुनबाट जोगिएको उहाँले जनाउनुभयो ।
संयोजक भोटेले ती कर्मचारीहरुले बिगत करिब एक वर्षदेखि निरन्तररुपमा मानसिक दबाब, अपमानजनक व्यवहार र कार्यगत अवरोध सिर्जना गराउँदै आएको जनाउँदै उक्त घटना प्रहरीमा मिलाउन खोजिदा विभागीय प्रमुख गणेश तिमिल्सिनाले मिलापत्र कागज आफूले नहेरी मिल्न नहुने परिस्थिति बनाएर भड्याउन खोजेको उहाँले दोषारोपण गर्नुभयो । कर्मचारी सम्वद्ध व्यक्तिहरुले सामाजिक सञ्जाल तथा अनलाईन सञ्चार माध्यममा तोडमोडको भिडियो हालेर भ्रम छरिएको उहाँको भनाई छ ।
भिडियोमा खर्च सम्बन्धी शब्दहरु योजनावद्ध रुपमा समावेश गरी सञ्चालक र कर्मचारीबीच द्वन्द्व सिर्जना गर्ने प्रयास भएको र नेफ्स्कुन उपसमितिबाट हालसम्म फिल्ड कार्यालयबाट खर्च, हवाई टिकट, होटल बास जस्ता विषयमा कुनै आधिकारिक निर्णय भएको उहाँको भनाई थियो । यसरी कर्मचारीहरुलाई अनियन्त्रित प्रयोग, संस्थागत मर्यादा विपरीत गतिविधि गराउने विभाग प्रमुख तिमिल्सिनालाई कानून दायरामा ल्याई निष्पक्ष छानबीन गर्न सम्वद्ध निकायलाई उहाँले आग्रह गनुभयो ।
संस्थाको गरिमा कार्य संस्कृति, अनुशासन तथा शान्त कार्य वातावरण कायम राख्न र उक्त घटनाबारे निष्पक्ष छानबीन गरी दोषी उपर कानून बमिोजिम आवश्यक कारवाही तथा भविश्यमा यस्ता घटना दोहोरिन नदिन ठोस निर्णय गरिदिनुहुन उहाँले सरोकारवाला निकायलाई अनुरोध गर्नुभएको छ ।
गलत र भ्रष्ट प्रणाली तथा प्रवृतिसँग लामाे समयदेखि लड्दै गर्दा पूर्व नियाेजितरुपमा मलाई दाेषी देखाउन सुरुमा ममाथि आक्रमण र दुर्व्यवहार गरी मलाई नै सुरक्याएर पछि मैले प्रतिकार गर्न खाेज्दा मेरै भिडियाे खिचेर भ्रम फैलाउने दुष्प्रयास गरिएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार याे केन्द्रदेखि गरिएकाे षड्यन्त्र र जालझेल भएकाेले यसकाे सत्य तथ्य छानबीन हुनुपर्छ ।








