OnlinePana

आज : २०८२ मंसिर २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २४, २०८२
३८ पटक

२३ मंसिर २०८२, मंगलबार

सुर्खेतः मध्यपश्चिम विश्वविद्यालयमा पाठ्यक्रम अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण तालिम आजबाट सुरु भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ एजुकेसनको आयोजना र फिनल्यान्ड तथा युरोपेली संघको सहयोगमा सञ्चालित विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग तथा सहकार्य टेक्सेस नेपाल परियोजना अन्तरगत सुर्खेत वीरेन्द्रनगरमा आजदेखि पाठ्यक्रम अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण आवासीय तालिम सुरु भएको हो ।

तालिममा कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले पाठ्यक्रमको समयानुकूल परिमार्जन गरिएको प्रति खुसी व्यक्त गर्दै पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । उहाँले पछिल्लो समय मध्यपश्चिम विश्वविद्यालयले गति लिएको बताउँदै सर्टिफिकेट पाउँदा गर्व गर्ने गरी विश्वविद्यालयले ब्राण्डिङ गर्नु आवश्यक रहेको बताउनुभयो । मन्त्री भण्डारीले पाठ्यसामग्रीको अभाव पूर्ति गर्न पाठ्यक्रम अनुरुप पाठ्यपुस्तक निर्माण गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्राडा. शोभाखर कँडेलले सबैले सकारात्मक भावना लिएर काम गर्नुपर्नेमा जोड दिंदै एक्काइसौं शताब्दीमा डिजिटल कौशल, सृजनशीलता, सञ्चार सीप तथा सहकार्य अत्यावश्यक भएकाले तालिमका विषयवस्तु माथि गम्भीरतापूर्वक छलफल एवं मनन गर्न सुझाउनुभयो । उहाँले कक्षाकोठामा ज्ञान, सीप, अभिवृत्ति तथा दक्षता प्रयोग गर्ने वातावरण भए मात्र पूर्ण सिकाइ हुने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव ढोलकराज ढकालले तालिममा गरिएको खर्च खर्च नभै लगानी अर्थात् सम्पतिका रुपमा ग्रहण गर्नुपर्ने भन्दै यसको उपलब्धिमा जोड दिनुभयो । कार्यक्रमको पहिलो दिन अभिमुखीकरण, पाठ्यक्रम र शिक्षण रणनीतिहरु सम्बन्धी सत्र सञ्चालन भएको छ ।

जसको सहजीकरण विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग तथा सहकार्य टेक्सेस नेपाल परियोजना अन्तर्गत समावेशी शिक्षामा अन्तर्राष्ट्रिय विज्ञका रुपमा कार्यरत फिनल्याण्डकी नागरिक डा.माया मकिनेन, मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा.विष्णुकुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा.लक्ष्मीप्रसाद आचार्य र अन्तराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा.यदुप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

तालिमले पाठ्यक्रम विकास, शिक्षण विधि (एभमबनयनथ), मूल्याङ्कन प्रक्रिया तथा विद्यार्थी मार्गदर्शन पुस्तिका विकास जस्ता मुख्य पक्षमा तालिम केन्द्रित रहने आयोजकले जनाएको छ । बीएड तहको पाठ्यक्रम परिमार्जन तथा पुनर्निर्माण भई प्रथम सेमेष्टरको पाठ्यक्रम लागू भैसकेको सन्दर्भमा परिमार्जित पाठ्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्रशिक्षक उत्पादन गर्न तालिम सहयोगीसिद्ध हुने विश्वास गरिएको छ ।

मंसिर २३ देखि २६ सम्म सञ्चालन हुने तालिममा ग्र्याजुएट स्कुल अफ एजुकेसन केन्द्रीय विभागसहित विभिन्न आङ्गिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको सहभागिता रहेको छ ।

उक्त अवसरमा विभिन्न विषय समिति प्रमुखहरुसहित विषयगत रुपमा समूह छलफल भएको थियो । आयोजक ग्र्याजुएट स्कूल अफ एजुकेसनका डीन प्राडा. यमबहादुर कार्की, डा.प्रेमकुमारी ढकाल र उपप्राध्यापक भीमबहादुर रोकाय, विश्वविद्यालयका विभिन्न तहका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो भने दातृ निकाय टेक्सेस परियोजनाका तर्फबाट डा.मायासहित कर्णाली प्रदेश संयोजक बखत भण्डारीलगायतको टोली सहभागी रहेको थियो ।

प्रतिकृया दिनुहोस्