

२३ मंसिर २०८२, मंगलबार
कर्णाली प्रदेशको विकट जिल्ला मुगुका स्थानीय युवाहरुले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ‘झरो’ (दियालो) उपहार प्रदान गरेका छन् ।
मुगुका ९५ प्रतिशत नागरिकहरुले अहिलेसम्म पनि स्थायी विद्युत् सुविधा नपाएको गम्भीर अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय युवा आशिष देवकोटाको नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई प्रतीकात्मकरुपमा ‘झरो’ उपहार प्रदान गरेका हुन् । युवा नेता देवकोटाका अनुसार करिब ७० हजार जनसंख्या रहेको जिल्लामा स्थायी विद्युत् सेवा पाउन सक्ने संख्या केबल करिब तीन हजार पाँच सयमा सीमित छ ।
रासससँग कुरा गर्दै युवा उहाँले भन्नुभयो, “मुगुका अधिकांश नागरिकहरु आजको प्रविधिको युगमा पनि सल्लोको काठ, मैनबत्ती र अस्थायी उज्यालोमा जीवन गुजार्न बाध्य छन् । विद्यालयदेखि अस्पतालका उपकरण, सञ्चार डिजिटल सेवा, स्थानीय उद्योग, कृषि प्रशोधन जस्ता सबै क्षेत्रमा विद्युत् अभावले दैनिक जीवन असहज बन्दै गएको छ । यही अवस्था दर्शाएर हामीले पाँच बुँदे ध्यानाकर्षण मन्त्री घिसिङलाई बुझाएका छौं ।”
जसमा मुगु जिल्लालाई ‘विशेष विद्युतीकरण प्राथमिकता क्षेत्र’ घोषणा, जिल्लाका ७० हजार जनताका लागि ‘शतप्रतिशत विद्युत् पहुँच’ पु¥याउने स्पष्ट समयसीमा र कार्ययोजना सार्वजनिक, भौगोलिक अवस्था अनुसार राष्ट्रिय प्रसारण र स्थानीय वैकल्पिक स्रोतलाई एकीकृत रुपमा कार्यान्वयन, जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिन विशेष निर्देशन जारी गरिनुपर्ने र भरपर्दो वितरण प्रणाली निर्माणका लागि तत्काल विशेष प्राविधिक टोली मुगु पठाउनुपर्ने माग राखिएको देवकोटाले जनाउनुभयो ।
युवाहरुले मुगुको विशाल भूभाग अझै राष्ट्रिय प्रसारण लाईनसँग जोडिन नसक्नु, आपूर्ति अस्थिर हुनु र वितरण संरचना कमजोर रहनु मुख्य चुनौती भएको औंल्याउँदै मन्त्री समक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा मुगुको विद्युतीकरण केवल पूर्वाधार विकासको विषय मात्र नभई सामाजिक न्याय, मानव विकास र राष्ट्रिय समावेशीकरणसँग जोडिएको मुद्दा भएको स्पष्ट उल्लेख गरेका छन् ।
ध्यानाकर्षण पत्रमा मुगु जिल्लालाई विशेष विद्युतीकरण प्राथमिकता क्षेत्र घोषणा गर्न, शतप्रतिशत विद्युत् पहुँचको स्पष्ट समयसीमा सार्वजनिक गर्न, दिगो तथा विश्वसनीय वितरण संरचना निर्माणका लागि विशेषज्ञ टोली तत्काल परिचालन गर्न तथा राष्ट्रिय प्रसारणसँग स्थानीय वैकल्पिक ऊर्जा स्रोतलाई एकीकृत गर्दै दीर्घकालीन समाधान अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
‘झरो’ उपहारबारे युवाहरुले भने, “२२औँ शताब्दीको नेपालमा पनि मुगु अँध्यारोमै छ भन्ने सन्देश मन्त्रीज्यूले गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ ।” ऊर्जा क्षेत्रमा मन्त्री घिसिङको नेतृत्वमा देशभर देखिएको सकारात्मक परिवर्तन अब मुगुसम्म पनि छिट्टै पुग्ने अपेक्षा व्यक्त गर्दै दशकौँदेखि प्रतीक्षामा रहेको उज्यालो ढिलो नगरी मुगुका प्रत्येक घरसम्म पु¥याउन दृढ पहल गर्न उनीहरुले अनुरोध गरेका छन् । मन्त्री घिसिङले एक वर्ष भित्रमा मुगुलाई उज्यालो बनाउने प्रतिवद्धता युवाहरु समक्ष गर्नुभएको थियो ।










