

१३ कार्तिक २०८२, बिहीबार
सुर्खेतः विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य योजना’ निर्माण कार्य सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको समन्वयमा उक्त प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो । यसका लागि सुर्खेत वीरेन्द्रनगरमा तीन दिनसम्म हुने ‘प्रदेश स्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य योजना सम्बन्धी कार्यशाला’ आज बिहीबारबाट सञ्चालन भएको छ ।
कार्यशाला उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विपद्का लागि जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि जनशक्ति र स्रोत आवश्यक भएको बताउनुभयो । कर्णालीको भूगोल अनुकूल विपद् प्रतिकार्यका लागि तत्काल खर्च गर्ने स्रोत जुटाउन कठिन हुने गरेको उहाँको भनाई थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त जनशक्तिहरु संख्यामा धेरै भएपनि प्रतिकार्यमा फिल्ड खटिने संख्या कम भएको टिप्पणी गर्दै मन्त्री भण्डारीले कार्यान्वयन हुने योजनाहरुको निर्माण र त्यसको रुपरेखा तयार कार्याशालाबाट सहयोग पुग्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव दिवस आचार्यले विपद् तथा प्रतिकार्यका लागि बनाइएको योजनालाई प्रदेशको मौलिकतामा अन्तिम रुप दिन विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागितामा कार्याशालाको आयोजना गरिएको बताउनुभयो । डा.अमृत पोखरेलले सातै प्रदेशको आफ्नो हावापानी र माटो सुहाउँदो प्रतिकार्य योजना तयारी गरी अन्तमा राष्ट्रियस्तरको योजना निर्माण कार्यान्वयनमा लैजाने बताउनुभयो ।
कार्यशालामा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत एवं विपद् सम्पर्क व्यक्ति किरण शर्माले कर्णालीमा भूकम्प, पहिरो, आगलागी, चट्याङलगायतका २१ विशिष्टिकृत विपद् र त्यसबाट उत्पन्न हुने खतराहरुको नियन्त्रण, रोकथाम र प्रतिकार्य कसरी गर्ने भन्ने विषय समेटिएको आफ्नो प्रस्तुति राख्नुभयो । उक्त प्रस्तुतिसँगै उहाँले विपद्जन्य घटनाहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने दस्ताबेज तयार गरी त्यसलाई अन्तिम स्वरुप दिन छलफल गरिएको जनाउनुभयो ।
कार्याशालामा कर्णालीको विपद् जोखिम अवस्था, त्यसको न्यूनीकरण र प्रतिकार्य कसरी गर्ने भन्ने विषयमा समुह कार्य गरिएको थियो । जसमा सिंगो कर्णाली प्रदेशको परिचयका विषयमा डा.रत्नबीर सुनार, प्रादेशिक सन्दर्भका बारेमा रितिजा रावल, संस्थागत स्वास्थ्य प्रणालीबारेमा जनस्वास्थ्य अधिकृत उमा डिसी र प्रादेशिक विपद् जोखिम विवरण डा.जीवन परियारले प्रस्तुत राख्नुभयो ।
उक्त कार्यशालामा दशवटै जिल्लाका जनस्वास्थ्य तथा आयुर्वेद कार्यालयका प्रमुख, स्वास्थ्यसँग सम्बन्ध निकायका प्रमुख, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीलगायत प्रमुकाख एवं प्रतिनिधिसहित सबै सरोकारवालाहरुको सहभागिता रहेको थियो ।







