

३० असोज २०८२, बिहीबार
सुर्खेतः मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.ध्रुवकुमार गौतमले नेपाली नाट्य साहित्य समाजको दर्पण भएको बताउनुभएको छ ।
आरङ्ग नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित नाट्यग्रन्थको ‘लोकार्पण तथा सम्मान’ कार्यक्रममा बोल्दै उपकुलपति प्राडा.गौतमले नाट्य साहित्यले कला, भाषा, साहित्य र लोक संस्कृति जगेर्ना गर्न ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “‘नाट्यग्रन्थ’ नाट्य सागर हो । भौतिक वस्तुका रुपमा मात्र यसलाई सीमित नराखेर अबको युगमा डिजिटलाईज हुनुपर्छ ।”
नेपालको कला, संस्कृति, भाषा र धर्मसँग नाट्य साहित्य विशेषरुपमा जोडिएको भन्दै उपकुलपति गौतमले १९औं शताब्दीदेखि नेपालमा खास गरी नाटककार बालकृष्ण समको पालादेखि यसको विकास भएको उल्लेख गर्नुभयो । संस्कृति संरक्षणदेखि ज्ञान प्रदान, राष्ट्र र राष्ट्रिय बचाउने भएकोले यसको संरक्षण, विकास र प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाई थियो ।
नाट्यग्रन्थका प्रधान सम्पादक प्राडा.रामचन्द्र पोख्रेलले नेपाली कला, भाषा, साहित्य र संस्कृतिको उद्मस्थल कर्णाली नै भएकोले यसको संरक्षण र विकासमा जोड यहीबाट दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कुनैपनि देशको अस्तित्व समाप्त पार्न ठूला मिसाईल, क्षेप्यास्त्र र गोला बारुद हान्नु पर्दै । त्यो देशको संस्कृति, कला, साहित्य र भाषा समाप्त पारिदिए हुन्छ । तसर्थ नाट्य साहित्यमार्फत हाम्रो कला र संस्कृतिको संरक्षण गरी राष्ट्र बचाउनुपर्दछ ।”
नेपालमा नाट्य प्रतिष्ठानमा जन्म कला, साहित्य, भाषा र संस्कृति बचाउन भएको प्राडा.पोख्रेलले जिकिर गर्नुभयो । उहाँका अनुसार दोषारोपण संस्कृतिबाट उन्मुक्त भएर यसबारे सबैले नव पुस्तालाई सिकाउनुपर्दछ र पाश्चात्य दबदबालाई निरुत्साहित गर्नुपर्दछ । लोकार्पण कार्यक्रममा भएको नाट्यविमर्शका क्रममा प्राडा.रामनाथ ओझाले नाट्यग्रन्थमाथि समीक्षा गर्नुभयो ।
कार्यक्रममा हिराबिजुली नेपाली, माया थापा, यामनारायण आचार्य र उमलाल आचार्यलगायतका रंगकर्मीहरुलाई सम्मान गरिएको थियो । प्रतिष्ठानले आजै आरङ्ग नेपालका अध्यक्ष एवं रंगकर्मी गणेशभक्त गौतमको अध्यक्षतामा चार सदस्य नेपाल नाट्य प्रतिष्ठान कर्णाली प्रदेश समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा डा.ओमप्रकाश आचार्य, माया थापा र उमलाल आचार्य चयन हुनुभएको छ ।