OnlinePana

आज : २०८२ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २४, २०८२
१२ पटक

२४ असोज २०८२, शुक्रबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य सुधार गर्न मानसिक स्वास्थ्य रणनीति निर्माण गरिएको बताउनुभएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतद्वारा आज वीरेन्द्रगरमा आयोजित ‘मानसिक स्वास्थ्य र विपद्को समयमा यसको प्रभाव’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रणनीति कार्यान्वयनमा प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्य रणनीतिको मध्यावधि समीक्षा गरी थप कार्ययोजना बनाएका छौं । स्थानीय तहहरुले कार्ययोजना बनाई काम गरिरहेको अवस्थामा प्रदेश सरकारले त्यसको अपनत्व लिनेछ ।”

अस्पतालहरुमा मानसिक स्वास्थ्य उपचारका लागि विशेष कक्षको स्थापना गरिएको जनाउँदै मन्त्री भण्डारीले भर्खरै प्रदेश अस्पताल सुर्खेतमा मानसिक स्वास्थ्य जाँचको वार्ड सञ्चालन गरिएको र अन्य अस्पतालमाहरुमा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालहरुमा बिरामीको सहज पहुँच हुन नसकेको पाइएपछि मन्त्रालयले कर्णालीका रणनीतिक महत्वका क्षेत्रमा रहेका स्थानीय तहद्वारा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मेडिकल अधिकृतहरु खटाईएको छ ।

सरकारले मानसिक स्वास्थ्य समस्याका भएका नागरिकहरुको उपचार र पुनःस्थापनामा चासो दिएपनि परिवार बेवास्ताग्रही बनेको टिप्पणी गर्दै उहाँले त्यस्ता बिरामीहरुको संरक्षणमा परिवारको मुख्य भूमिका हुने जनाउनुभयो । उहाँका अनुसार प्रदेश सरकार मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम गाउँसम्म पु¥याउने लक्ष्यका साथ अगाडि बढेसँगै आजै डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा यस सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीले मानसिक स्वास्थ्यको विश्व, नेपालसहित कर्णालीको वर्तमान अवस्था, यसको नियन्त्रण तथा रोकथाममा राज्यले गरेको लगानी र सरोकारवालाहरुको भूमिका सम्बन्धी आफ्नो प्रस्तुति राख्नुभयो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले मानसिक स्वास्थ्य समस्याका कारण समाजमा देखिएको उदासीनता, चिन्ता र तनावले आत्महत्याका घटना बढ्दै गएको बारे प्रस्तुति राख्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्