

८ असोज २०८२, बुधबार
सुर्खेत: प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायतका विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश सुरक्षा समन्वय समिति’को बैठक सम्पन्न भएको छ ।्
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको उक्त बैठकमा शान्ति सुरक्षालगायत समग्र अवस्थाबारे छलफल र समीक्षा गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सूर्यमणि गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले मुलुकको पछिल्लो परिस्थिति एवं नजिकिदै गरेको विजयादशमी, दिपावली, छठ पर्वमा यात्रु आवागमनलाई सहज बनाउनतर्फ विशेष सरोकार राख्ने निर्णय भएको छ ।
त्यस्तै, कानून विपरित हुन सक्ने आपराधिक घटनालाई नियन्त्रण गर्न सम्वद्ध सुरक्षा निकायसहित सबैले आ–आफनो ठाँउबाट योगदान, समन्वय र सहजीकरण गर्न आव्हान गर्दै शान्ति सुरक्षा कायम गर्ने निर्णय भएको जनाइएको छ । बैठकमा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, उत्तरपश्चिम पृतनापति दिपेशजंग शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, शसस्त्र प्रहरी महेश्वरी बाहिनीका कामु बाहिनीपति विनोदराज श्रेष्ठलगायत प्रदेश तहका सबै सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।