
२४ भदौ २०८२, बुधबार
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार अपरान्ह ४ः३० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागु गरेको निषेधाज्ञा आजसम्म जारी रहेको छ ।
भदौ २३ र २४ गतेसम्म जेन जेट प्रदर्शनकारीहरुको आन्दोलनबाट यहाँका सरकारी तथा सार्वजनिक र नेता, पार्टी तथा जनप्रतिनिधिहरुको घरमा आगजनी, सवारी साधन तोडफोडपश्चात् थप क्षति हुन नदिन भन्दै प्रशासनले हिजोबाट निषेधाज्ञा लागु गरेको हो । निषेधाज्ञा तोकिएको सिमानाबाहिरका होटल तथा पसल खुलेपनि बजार भने ठप्प रह्यो ।
स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ (क) बमोजिम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाको रत्नराजमार्ग अन्तरगत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाएको छ । यस क्षेत्रमा नेपाली सेनाले कसैले आवतजावत गर्न, कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक गर्न दिएको छैन ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको उच्च सुरक्षाका कारण मंगलबार अशान्त बनेको वीरेन्द्रनगर आज शान्त बन्यो । होटल पसल नखुलेका कारण व्यापार व्यवसाय हुन सकेन । छिटफुट रुपमा नागरिकहरुको आवतजावत भएपनि कहीकतै भीड र होहल्ला हुन सकेन । निषेधाज्ञाकै कारण सरकारी तथा गैरसरकारी कार्यालय र विद्यालय सञ्चालन हुन नसकेको जिल्ला प्रशासन कार्यालयले सुर्खेतले जनाएको छ ।