OnlinePana

आज : २०८२ भाद्र २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २२, २०८२
९ पटक

२२ भदौ २०८२, आईतबार

सुर्खेत जिल्ला अदालतका न्यायधीश दिपक ढकालले करिब एक दशकसम्म सर्वोत्कृष्ट कर्मचारी राज्यले पाउन नसक्नु दुर्भाग्य भएको बताउनुभएको छ ।

निजामती सेवा दिवस २०८२ को अवसरमा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित दिवस समारोह कार्यक्रममा मन्तव्य व्यक्त गर्दै न्यायधीश ढकालले विसं.२०७३ यता राज्यले सर्वोत्कृष्ट कर्मचारी भनेर पुरस्कृत गर्न नसकेको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, “के राज्यमै सर्वोत्कृष्ट पुरस्कार दिनलायकका कर्मचारी छैनन र ? यो त निकै सोचनीय विषय हो । ”

उहाँले सरकारले मुलुकमा राम्रो गर्ने कर्मचारी खोजेर उनीहरुलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्डित गर्ने संस्कृति एवं पद्धतिको विकासले सुशासन कायम हुने बताउनुभयो । यसका लागि सबै सरोकारवालाहरुले आआफ्नो जिम्मेवारी बोध गरी मर्यादामा रहेर काम गर्नुपर्नेमा न्यायधीश ढकालले जोड दिनुभयो ।

कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव लक्ष्मीबहादुर विकले राजनीति नेतृत्वले बनाएको सरकारबाट अपेक्षामुखी काम हुन सकेमात्र जनताको जीवनस्तर वृद्धि हुने र राज्यप्रति विश्वास बढ्दै जाने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार सेवा प्रभावबाट सुशासन कायम गरी जनताको मुहारमा खुशी ल्याउन सक्ने अवस्थाले ‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराले सार्थकता पाउनेछ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले मुलुकको विकास, समृद्धि र उन्नतिका लागि राजनीति र प्रशासनबीच सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थायी सरकार र राजनीतिज्ञहरु बीच सुमधुर सम्बन्ध हुन जरुरी छ । दुवै पक्षबीचको सम्बन्ध, सहकार्य र समन्वय नभए देश सही बाटो जान सक्दैन ।”

निजामती सेवा दिवस २०८२ को अवसरमा प्रमुख जिल्ला अधिकारीसहित ३४ जनाले रक्तदान गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वीरेन्द्रनगर पालिका ६ स्थित डिभिजन वन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भानुपार्कको उत्तरमा रहेको पुरातात्विकस्थमा ५२ पारिजातका वृक्षारोपण गरिएको छ ।

त्यस्तै, दिवसकै अवसरमा कार्यालय प्रमुखले नगद उठाएर मानव सेवा आश्रम र प्रशान्ति वृदाश्रम सुर्खेतमा खाद्य वितरण गरिएको छ । त्यसैगरी, नेपाल निजामती कर्मचारी युनियनले प्रशान्ति वृद्धाश्रम र नेपाल निजामती कर्मचारी संगठनले मानव सेवा आश्रममा भोजन अर्पण गरेको प्रशासकीय अधिकृत पौडेलले जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्