

२० भदौ २०८२, शुक्रबार
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक सञ्जाल फेसबुकलगायतका माध्यमबाट कुरा गरी नक्कली बिहे गर्ने दुई जनालाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेख साविक साढु गाविस ३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत बस्ने सदाशंकर होटलका सञ्चालक ४० वर्षीय गोपालकुमार विक र अछाम साविक तुर्माखाँद गाविस ३ सिजी घर भई हाल हाल वीरेन्द्रनगर नगरपालिकाको सोही वडामा बस्ने ३८ वर्षीय भविसरा रास्कोटी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।
“सामाजिक सञ्जाल फेलबुक लगायत माध्यबाट कुरा गरी नक्कली आमा बुवा तथा छोरी बनी ठगी गर्ने मनसायले बिहे गरेर बिहेपश्चात बेहुलीले नगद तथा गरगहना लगि बेपत्ता भई ठगी गरेको सुचना प्राप्त भयो,” उहाँले भन्नुभयो, “फरक फरक मितिमा विभिन्न पुरुष व्यक्तिसँग एउटै महिलालाई बिहे गराई ठगी गरेको भनी पिडितहरुले यस कार्यालयमा जाहेरी पेश गरे ।” सोही आधारमा ठगी गर्ने होटल सञ्चालक गोपालकुमार र भविसरलाई पक्राउ गरी भदौ १७ गतेबाट अपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता बुढ्थापाले बताउनुभयो ।